शनिबारको दिन थियो, चोकमा बसेर साथीलाई कुरिरहेको थिएँ । एउटा रातो स्कुटी टक्क रोकियो मेरो अगाडि । हेल्मेट खोल्दै एक सुन्दर युवतीले सोधी, दाइ यतातिर कतै कोठा खाली भएको थाहा छैन तपाईंलाई ?
मैले पनि मेरो घरतिर देखाउँदै भनिदिएँ, उ त्यो नीलो घरमा जानू न, तल्लो फ्ल्याट पूरै खाली छ । उसले स्कुटी बटारी र लागि उतैतिर । उ अलिक पर पुगुञ्जेल मैले उसलाई हेरिरहेँ ।
साँझ घर फर्किंदा आमाले भन्नुभो, ए कान्छा ! तेरो बाइक राख्ने ठाममा अर्को बाइक अट्छ त ? मैले बुझिहालेँ ।
मोरी फिक्स यहीँ बस्ने भइछ । मनमा रातो स्कुटी रोकेर उसले मलाई सोध्दै गरेको सम्झिन थालेँ । दिन त राम्रै रहेछ , होस सम्हाल्दै बोलेँ, अट्छ, अस्ति विनोद दाइ आउँदा सँगै राख्या हैन र ?
फेरि मनमा लाग्यो, पाहुना पो आउन लागेका हुन् कि ? कन्फर्म गर्न आमालाई सोधेँ ।
को पाहुना आउन लाग्या हो र ?
पाहुना, साहुना होइन । तल फ्ल्याटको एउटा कोठामा एउटी नानी बस्न आउने भइन्, उनको स्कुटर रहेछ राख्नुपर्यो नि ।
मैले नबुझेझैँ गरेँ, ए ए, हुन्छ ।
मन खुसीले मख्ख पर्यो । त्यै पनि थप कन्फर्म गर्न आमालाई सोधेँ, कति जना बस्ने रहेछन् ?
बिहे नगरेकी केटी एक्लै बस्ने रे । आमाले बेलीबिस्तार लाउनु भो, घर इलाम रहेछ । नर्स पढेर सकेको रे विराटनगरबाट । जागिर यहीँको अस्पतालमा परेछ । बिहेबारी नगरेकी केटी परिछ, केटाहरू आइराख्ने हुन् कि ।
आमाले केटाहरू आइराख्ने हुन् कि भन्दा मनमा चसक्क भयो । आमाको र मेरो चिन्ता मिल्यो, अरू केटा पो आउने हुन् कि । पहिल्यै लभ परिसेकको पनि त हुन सक्छ । तै पनि आमालाई भनेँ, त्यति राम्री केटीका के धेरै केटा होलान् र केटाहरू भन्नुभएको नि । आमा पनि जोसुकैलाई शंका गरेर बस्ने ।
के भन्छ ? तैँले चिनेको केटी हो र ? राम्री केटी भन्दैछस् , आमाले सोध्नुभयो ।
कहाँ चिन्नु । नर्सिङ पढेर जागिरसम्म खाइसकेकी भनेपछि त राम्रै होला नि भनेर पो त । पढेर जागिर खाँदा लभ गर्ने फुर्सद के भयो होला र ? - आमाको र मेरो दुवैको मनलाई शान्ति मिल्यो ।
म कोठामा छिरेँ, आफ्नो अनुहार ऐनामा हेरेँ र मुसुक्क मुस्कुराउँदै भने- ‘दामी केटी घरमा बस्न आउने भई । अब केही हुन्छ ।’
भोलिपल्ट बिहानै म झ्यालबाट बाटो हेरिरहेको थिएँ । त्यही रातो स्कुटर हाम्रो घरमा आएर रोकियो । रातो स्कुटरको उनी पछिल्तिर थिइन्, हाँक्ने एउटा केटा थियो । केटा देख्नेबित्तिकै मेरो मुखबाट फुत्कियो, को भिलेन हो यो फेरि । धन्न सानो स्वरमा भनेँछु, कसैले सुनेनन् । उनी अघि लागिन् भने केटो हेल्मेट नखोली पछि लाग्यो । दुवैजना हाम्रो घरभित्र झिरे ।
उनी र त्यो केटो माथि आएको मैले भर्याङको आवाज सुनेर थाहा पाएँ । मनमा सोचेँ, केटो सँगै छ, के बाहिर जानु । एक्लै भएको भए पो यसो कुरा गर्दै लाइन हान्न पनि हुन्थ्यो । भिलेनको त्यो अनुहार हेरेर के लोदर लगाउनु ?
म भित्रैबाट सुनिरहेको थिएँ, उसले आमालाई नमस्ते आन्टी भनी । आमाले अनौठो मान्दै, उ बाबु चैं को हो नि भनेर सोध्नुभयो ।
म भित्र कोठामा सुस्तरी बोलेँ, ठिक्क पर्याे । आमाले भिलेनलाई आउनै बन्द गर्दिए हुन्थ्यो नि ।
उसले भनी, मेरो दाजु, कोठा सर्न गाह्रो हुन्छ होला भनेर आजै इलामबाट आउनु भको । अहिले चाबी लिइराखुम् भनेर । म भरे अफिस जानु छ । दाइले नै सबै काम सक्दिनुहुन्छ आजै ।
त्यति सुन्नै बित्तिकै म कुदेर ढोकासम्म पुगेँ । तर झसंग सम्झेर फर्केर ऐनामा हेरेर कपाल मिलाएँ । र केही नभएजस्तो गर्दै बाहिर निस्केँ । उसको दाइलाई पुलुक्क हेरेर मनमनमा भनेँ, पछि ज्वाइँ भनेर मेरो खुट्टा ढोग्ने निधार त राम्रै रहेछ ।
उनले पनि मलाई पिलिक्क हेरिन् र भनिन्, तपाईको नै पो हो घर ? म लजाएँ । आमाले मलाई छक्क परेर हेर्नु भो । हिजो बाटोमा कोठा खाली भएको घर सोध्दै हुनुहुन्थ्यो, मैले हाम्रै घर देखाइदिएँ - मैले आमालाई हेरेर भनेँ ।
म कोठामा पसेँ । ऊ आमासँग के के कुरा गर्न थाली र फेरि नमस्ते भन्दै बाटो लागी । मैले झ्यालबाट हेरेँ । दाइले स्कुटी हाँक्यो । उ पछि बसी ।
साँझ पर्न लागेको थियो । म बाहिरबाट घर फर्कें । उसको कोठाको ढोकामा पर्दा लगाएको थियो । मनमनमा भनेँ, आइछ । एकपल्ट भेट्नुपर्ला कि । ढोका छेउमा पुगेपछि लाग्यो, आएकै दिन बिनाकारण गयो भने त भाउ नै दिन्न नि । जान हुन्न त्यसै त ।
माथि कोठामा पुगेपछि आमाले भन्नुभयो, ती नानीलाई गेटको एउटा चाबी दे त । अघि बाबाले बनाएर ल्याइदिनु भएछ । पहिले बसेकासँग चाबी फिर्ता माग्नै बिर्सिएछ ।
आइसकी र ? मैले आमातिर हेरेँ । आमाले मलाई गिज्याउँदै बोली बिगारेर भन्नु भयो, आइसकी र ? अघि तलबाट आउँदा देखिनस् ढोकामा पर्दा ।
खोइ, मैले त यादै गरिनँ भन्दै म चाबी बोकेर उसको ढोका ढकढकाएँ । उसले ढोका खोली । घर बस्ने लुगामा बिछट्टै राम्री देखिएकी ।
चाबी दिँदै मैले भनेँ, हाइ म बिकेश । यो गेटको चाबी ।
उसले मलाई देखेर मुस्कुराई र भनी अस्ति कोठा देखाइँदिदा थ्यांक्यु सम्म पनि भनिनँ । आज डबल थ्यांक्यु, बाइ द वे- म स्मिता ।
होइन थ्यांक्यु भन्नुपर्दैन, इट्स ओके ।
म आफू बाटो लागेँ, घर छेलिएपछि चुरोट निकालेँ र जलाएँ । उसको अनुहार आँखामा आइरह्यो । घर फर्किंदा उसको ढोका हेरेको बन्द नै थियो, मात्र पर्दा झुन्डिरहेको थियो ।
म फाइनान्समा काम गर्थें । उनको मेरो घरबाट निक्लने समय र आइपुग्ने समय उस्तै । थोरबहुत बोलचाल हुन्थ्यो ।
शनिबारको दिन थियो । घरमै थिएँ म । उ पनि सायद घरमै थिई । फेसबुकमा सर्च मारेर एड गरेँ, रिक्वेस्ट पठाको २ सेकेन्डमा एसेप्ट भो ।
ओहो, हाउ फास्ट । मैले लेखेँ ।
म पनि अनलाइन थिएँ नि त, घरबेटी साप - उसले इमोजी थप्दै लेखी ।
के को घरबेटी नि । यो घरकी बुहारी तिमी नै त हौ - तर म्यासेजमा चै लेखेँ- घरबेटी रे हाहा, यस्तो भन्न नपाई । यो तपाईंको पनि घर हो ।
के रे ? नहँसाउनु न - उसले कुरा बुझी क्यारे ।
मुख खोलेँ, आज शनिबार राम्रो टाइमपास हुने भो । थप रमाइलो कुरा गर्न टाइप गर्दै थिएँ । उतैबाट आयो म्यासेज, म बिजी छु । पछि कुरा गरुम् है । Have fun. फेरि पनि लास्टमा इमोजी आयो ।
मैले मन नराम्रो पार्दै ओके मात्रै लेखेँ ।
साँझमा म छतमा लुकेर चुरोट पिइरहेको थिएँ । उ अगाडि आइपुगिछ । म तर्सिएर हातको चुरोट फुत्तै फ्यालेँ । उ खितितिति हाँसी ।
तपाईं पो । म त बाबाआमा होला भनेर - मैले भनेँ ।
ए लुकीलुकी पो डढेलो लगाउँदै ? उसले व्यंग्य गरी ।
म फिस्स हासेँ मात्रै ।
सुकाएका लुगा उठाएर उ हिँड्न लागेकी थिई । मैले भनेँ- छतबाट हेर्दा त शहर पनि कति राम्रो देखिन्छ । अँ भन्दै मेरो नजिक आएर उभिई । उ त्यो तपाईंको अस्पताल, उ त्यो फिल्म हल भन्दै मैले ठाउँहरू चिनाउन थालेँ । तपाई कता कता घुम्नु भको छ ? मैले सोधेँ ।
मैले त यहाँबाट एउटै ठाउँमात्रै चिनेँ - उसले भनी ।
कुन ? मैले सोधेँ ।
पानीट्यांकी - उसले नगरपालिकाको पानीट्यांकी तिर देखाउँदै हाँसी ।
हामी निकैबेर के के यस्तै गफ गरेर बसिरह्यौँ ।
फेसबुकमा हाम्रो च्याटिङ बाक्लिन थाल्यो । एकदिन फेसबुकमै उसले नयाँ फिल्म आएको रहेछ भनी । मैले हेर्न जाने हो भनेर सोधेँ । उसले हुन्छ भनी ।
त्यो दिन फिल्म सँगै हेरियो । रेस्टुरेन्टमा सँगै खाइयो । आमाले थाहा पाउनुहुन्छ भनेर उसलाई पठाएर केहीबेरमा म घर फर्कें । उसले ढोका खुल्लै राखेकी रहिछ । पक्कै मेरै लागि थियो खुल्ला ढोका । ढोकाबाट चिहाएर हेरेको खाना पकाउँदै रहिछ । म नदेखीकनै माथि गएँ ।
त्यसपछि क्रमश: हामी सँगै हुन थाल्यौँ । च्याटमा पनि उत्तिकै व्यस्त हुन थाल्यौँ ।
दुई महिनापछि होला । एकदिन आँटैले च्याटमा लभ यु को स्टिकर पठाएको थिएँ । उता बाट लभ यु टु लेखेरै आयो ।
हैट, के पठाउँछे यो केटी आफैलाई विश्वास भएन । च्याटमा सोध्न पनि मन लागेन । के कुरो रहेछ टुंगो गर्न सामान्य हुँदै उसको कोठामा पुगेँ ।
म भित्र पुग्नेबित्तिकै उसले ढोका लगाई र खुसी हुँदै भनी, पार्टी गर्ने हो ?
किन ? मैले अचम्म मान्दै सोधेँ ।
हाम्रो लभ परेकोमा - उसले हाँस्दै मलाई हेर्दै भनी ।
मैले आफूलाई रोक्नै सकिनँ । उसको दुवै गालामा हात राख्दै उसलाई आफूतिर तानेँ । उ सहजै निहुरिदिई । मैले निधारमा चुम्बन गरेँ । उसले मलाई अंगालोमा कसी । मैले उसलाई पटक पटक आई लभ यु भने । उसले जवाफमा उति नै पटक आई लभ यु टु भनिरही । मैले बाहिरबाट खाना लिएर आएँ । उसले र मैले सँगै उसकै कोठामा मिठो चाउमिन खाएर हाम्रो लभ परेको पार्टी गर्यौं ।
त्यसपछि आमा बाबालाई झुक्याएर म उसको कोठामा गइरहेँ । उ पनि केही बहानामा मलाई भेट्न आइरहन थाली । हामी हाम्रा बाबाआमाले थाहा पाउलान् भनेर एकदमै सजग थियौँ ।
हामीले लभ परेको पार्टी गरेको दुई महिनापछि हुनुपर्छ- एकदिन बाबाले भन्नु भयो, तल्लो फ्ल्याट पूरै लिने मान्छे आका छन्, ती नानीलाई अर्कैतिर सर भन्नु पर्यो ।
म झस्किएँ । केही बोलिनँ ।
आमाले मेरो मुखतिर हेर्नु भो र हाँस्दै भन्नु भो- ती नानीलाई अर्कैतिर चाहिँ होइन, माथितिर चाँहि सर भन्नुपर्ला ।
आमाको कुरा सुनेर म त तीनछक्क परेँ । आमालाई कसरी थाहा भयो - मनमा सोचेँ ।
आमाले मलाई जिस्काउँदै भन्नुभो- मलाई सबै थाहा छ । राम्री केटीसँग परेको छस् । छिट्टै बिहा गर्नुपर्छ । उसलाई भनेर कहिले माग्न जानु भन्ने टुंगो गर् लठुवा । आमाले लठुवा पनि कति मीठो गरेर भन्न सक्नु हुन्छ । म खुसी र अचम्ममा केही बोल्नै सकिनँ ।
घरमा डेरा बस्न आएकी उ आज त्यही घरकी बुहारी छ । उसँग म एकदमै खुसी छु । एकाबिहानै म उठ्न अल्छी गर्छु र उसले बनाएको चिया त्यसै चिसो हुन्छ । उसले चिया चिसो भएको थाहा छैन ? भनेर सोध्दा उही पहिलो भेटमा उसले सोधेको सम्झन्छु, दाइ यतातिर कतै कोठा खाली भएको थाहा छैन तपाईंलाई ?
-पानीफाेटाे
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६