भरतपुर : चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशालाको भत्काइएको बार स्थानीयले बनाउन सुरु गरेका छन् । गत बुधबार बिहान डोजरसहित आएका केही स्थानीयले भत्काएको बार स्थानीयले नै बनाउन थालेका हुन् ।
स्थानीय, जिल्लाका राजनीतिक दल र धुर्मुस सुन्तली फाउन्डेसनबीच शुक्रबार सुरक्षाको सुनिश्चित गर्ने र काम गर्ने वातावण निर्माण गर्ने सहमति भएको थियो । शुक्रबार सहमति भएपनि फाउन्डेसनले अझै काम सुरु गरेको छैन ।
धुर्मुस सन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार बार लगाइसकेपछि काम गर्ने वातावरण निर्माण भएपछि मात्र निर्माण कार्य थालनी गर्ने बताए । उनले भने, ‘सुरुमा बार लगाउँदा पनि जानकारी गराएर नै लगाएको हो । केही स्थानीयबासीको स्वार्थका कारण यस्तो घटना भएको हो । तर अहिले सहयोग गर्ने कुरा आएको छ । स्वागतयोग्य काम हो । सहयोग गर्ने प्रतिबद्धता र बार लागउने कार्यको स्वागत गर्छु ।’
फाउन्डेसनका अध्यक्ष कट्टेलका अनुसार दुईचार दिनका लागि सहयोगी भएर मात्र नहुने भएकाले सुरक्षाको प्रत्याभूति र काम गर्ने वातावरण बन्नुपर्छ । साथै विवादमा आएजस्तो ‘बाटो’ इस्यु नभएको बताउँदै उनले यदि बाटो इस्यु नै भएको अवस्थामा पनि बाटो दिने वा नदिने अधिकार आफूसँग नभएको बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६