रूपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवक रूपा भनेपछि मरिहत्ते गर्ने गर्थे ।
रूपालाई आकर्षित गर्नका लागि मञ्चित नाटकहरू हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनीहरूले रूपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रूपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो ।
छिन्छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरू उतार्ने गर्दथी ।
झन् क्याम्पस आउँदा–जादाँका पलहरू निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरूले जिस्काउने गर्दथे । रूपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरूले एकप्रकारको समर्थन पाएको सम्झन्थे ।
घर आइपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरू सम्झेर मुस्कुराउने गर्दथी । उसलाई सधैं त्यही बाटो नै प्यारो लाग्थ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन थियो ।
अरूणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरूणलाई भाइ मानेकी छे । प्रत्येक भाइटीकामा अरूणको निधार रङ्गिने गर्दथे उसका हातहरूबाट । सायद आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरूणलाई ।
अरूण उसको घर पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थे । प्रत्येक दिन र रातहरू सँगै हुने गर्दथे । हाँसीमजाक गर्दागर्दै समयले नेटो काटेको पत्तै हुदैन थियो ।
अरूण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायामा बस्न रुचाउँछ । प्रत्येक पल अरूण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ । सायद यही कारणले होला रूपालाई अरूण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस जान लाग्दा रूपालाई अरूण नभई हुदैन । ऊ अरूणले ‘राम्रो देखिएको छ !’ नभनेसम्म घरबाट बाहिर निस्किँदैनथी ।
रूपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई ठूला–ठूला पर्खालहरूकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफूसँगैका साथीहरू आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरूलाई जहाँ पनि जान छुट भएको तर आफुलाई कहिी जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी ।
यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरू दबाएर राख्ने गर्दथी । क्याम्पस पार्कहरूमा प्रेमीप्रेमिकाहरू अँगालोमा बाँधिएर प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी त्यसबाट उब्जने परिस्थितिहरूसँग ।
***
रूपाकी आमा मेनुकाका दिनहरू सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरूकहाँ धाउनुपर्दैन थियो । उनी गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यै बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरू गर्न अभ्यस्त हुन्थ्यो । थोरबहुत राजनीतिबारे प्रशिक्षित भएकी उनी आफूलाई सभ्य र अरूलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरूले मन पराउँदैनथे ।
एक्लो हठ गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरू उनकोको अज्ञानता देखेर मनमनै खिल्ली उडाउँथे । उनी आफैँलाई पनि बिनाजानकारी प्याच्च बोल्ने बानीले धेरै चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरू पत्ता लगाई चिया पसलमा बसेर गफिएको देख्दा गाउँका महिलाहरूले ‘कुरा काट्ने आईमाई’को पगरी लगाइदिएका थिए।
रूपालाई निकै कडाइ गर्थिन् उनी । उनी छोरीहरू स्वतन्त्र भए बेइज्जती बाहेक केही हुँदैन उनीहरूलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका सोचाइ राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरूमा बन्देज लागाउँथिन् । गाउँमा सानै उमेरमा आफूखुसी विवाह गर्ने लहड चलेको थियो । यस्तै विषयप्रति असान्दर्भिक रुपमा उनी छोरीलाई सजग गराई राख्ने गर्थिन्, फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले !
***
भुँइमा तासहरू असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरूसँग तास खेल्नमा अभ्यस्त थिइन् । साथीहरू चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनी भने घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाइहाल्थिन्, हैन, मान्छेको कसरी मन बदलिन्छ हँ । एक जनासँग बिहे गरेर जीवन सुम्पिदिइसकेपछि फेरि अर्कोसँग किन जीवन सुम्पिँदै पोइला जानु ? यो आइमाईको जात त ! … फेरि त्यो वीरले किन बुढी आइमाईलाई बिहे गरेको होला ? मोराले अरू केटी देखेन ! उनका कुरामाथि अरूहरूले हो मा हो मिलाउँथे ।
तिमीहरूलाई थाहा छ आज कान्छी त पोइला गइछ । भर्खर १५ वर्ष के लागेकी थिई ! के हतारो परेको त्यसलाई ! फेरि आफूभन्दा डबल उमेरको आर्मीसँग !
के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ ? तालपरे सय वटा बिहे गर्छन् यी आर्मी बोकाहरू । ठिक्क पर्यो त्यसलाई ! अस्ति मसँग मुखमुखे लाग्दै थिई वेश्या !
जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखरलखर चारैतिर कुदी हिँड्थी । छोरी होस् तपाईंकी जस्तो ! आफ्नो छोरीको प्रशंसा गरेकोमा मेनुकालाई गर्वको महसुस भयो ।
रूपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर लागिरहेको थियो आफूबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात खुट्टाहरू मन्द–मन्द गतिमा काँपिरहेका थिए, आफू दोषी ठहरिने डरले । मनमा चिसो परिरहेको थियो ।
अकस्मात् रूपाले वाकवाक गरी । मेनुकाका साथीहरू तीनछक्क परे । मेनुकालाई शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रूपा भने बाहिर गएर आई ।
ए ! के भो तलाई
केही भा’को छैन मम्मी !
केही भा’को छैन भन्छेस् । म थाहा पाउँदिन ? मेनुकाले छोरीको मन तौलिन खोजिन् । रूपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउको निहुराई । अनुहारमा हेर्न सकिन । टाउँको निहुराइरही ।
छोरी यसरी निहुरिएको देखेर मेनुका जोडले कराइन्, कसले गर्यो यस्तो तलाईं । भन् न कोसँग सुतिस् ? मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् ।
रूपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुँकुसुँकाउँदै रही । मेनुकाको रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो । सहन सकिनन् । अनायासै रूपामाथि हातहरू बजार्न थालिन् ।
को हो त्यो ?
अरूण
रूपाले अरूणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भइन् । सिमेन्टमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ भनेर सोचेकी थिइनन् । स्तब्ध भइन् । केही बोल्नै सकिनन् । सधैं केही न केही बोलिराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरूले मौनताको भंग गर्दै आश्चर्यमा परिरहेका थिए । उनीहरू पनि मौन थिए ।
***
ब्रेन्चमा तीन पात्रहरूलाई राखिएको छ मेनुका, रूपा अनि अरूण । वरिपरि मान्छेहरू जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए । कतिले ‘जोसमा होस गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी भनिनेहरू अनेक लाञ्छनाहरू लगाउँदै पालोको पैंचो गर्दै थिए । रूपालाई अरूणसँग जिम्मा लगाइँदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन् । केही गर्न नसक्ने गरी लाचार बनेर टाउको निहुर्याएर सबै सुन्दै थिइन् ।
(स्रोत :साहित्य संग्रहालय)
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६