रहर भन्ने कुरा पनि गज्जबको हुँदो रहेछ । त्यही रहरले धेरै मानिसहरूलाई आफ्नोे गन्तव्यमा पनि पुर्याएको छ, तर जसले रहरसँगै मेहनत पनि गरेका हुन्छन् तिनलाई ।
त्यसो त रहरको पछाडि मेहनत पक्कै जोडिएको हुन्छ । फेरि मेहनतबिना रहर, रहरमा नै सीमित पनि हुन सक्छ । यस्तै संगीतमा रहर बोकेर हिँडेका सोनम थोकर तामाङ (लामा) ले संगीतको क्षेत्रमा निकै सफलता पनि हात पारिरहेका छन् ।
२०७१ सालदेखि कला क्षेत्रमा लागेका गायक सोनमले पाँच वर्षको छोटो अवधिमा नै गायन क्षेत्रमा धेरै नै सफलता प्राप्त गरिसकेका छन् । दुई वर्ष मोडलिङमा मात्र आफ्नोे समय दिएका गायक लामाले आफ्नो गुरु छेवाङ तेन्जिङ लामासँग शास्त्रीय संगीत सिकेर ०७३ सालदेखि गीत गाउन सुरु गरेका थिए । उनी भन्छन्, ‘म प्रायः सेलो गीत गाउँछु । ‘घर मेरो पूर्व’ मेरो पहिलो एल्बम हो ।’ उनका ‘माथि त शैलुङ, लोसारको साँझ, यो कलेजको जिन्दगी, सुन सुन मैच्याङ’ लगायत सात वटा एल्बम बजारमा आइसकेका छन् ।
आमाबाट प्रेरित भई संगीत क्षेत्रमा अगाडि बढिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘मेरी आमा प्रोफेसनल सिंगर त होइन, तर तामाङ गीतहरू राम्रो गाउनुहुन्छ ।’ सानैदेखि गीत गाउने अनि नाच्ने गरेको उनी बताउँछन् ।
केही समयअगाडि सिडी बेचेर राम्रै फाइदा हुने बताउने गायक लामा पछिल्लो समयमा चुनौती थपिएको बताउँछन् । उनी भन्छन्, ‘अहिले त स्टेज प्रोगामबाट हो आम्दानी हुने, एल्बम बेचिँदैन ।’
बहुप्रतिभाशाली गायक लामा आफैँले गीत लेख्ने, संगीत भर्ने, गाउने अनि आफैँ मोडलिङ गर्छन् ।
संगीतले आफूलाई सम्मान दिएको र म्युजिकमा करियर देख्ने गायक लामाले अहिलेसम्म विभिन्न जिल्ला गरी ६० भन्दा बढी स्टेज प्रोगाम गरिसकेका छन् ।
सरकारी जागिरभन्दा संगीतलाई रोज्ने गायक लामा संगीतलाई आफ्नोे सहाराको रुपमा लिन्छन् । उनी भन्छन्, ‘पैसा छ, अब मैले भिडियो र गीतमा लगानी गर्छु भनेर आएमा आफैँ डुबिन्छ । तर संगीत के हो भनेर बुझेर आएमा भविष्य राम्रो छ ।’
दोलखा जिल्लाका गायक लामा काठमाडौंमा संगीत क्षेत्रमा संघर्ष गरिरहेका छन् । रहरसँगै मेहनत गर्न सके हरेक क्षेत्रमा सफलता पक्कै पनि हात पार्न सकिन्छ । मेहनत गर्न सके रहरलाई आकार दिन सकिन्छ । नभए रहर रहरमा नै सीमित हुन्छ ।
पछिल्लो समयमा धेरै युवा संगीतको क्षेत्रमा भविष्य खोजिरहेका छन् । तर अरूको देखासिकी गरेर मात्र संगीत क्षेत्रमा सफलता हात पक्कै पनि पर्दैन । संगीतलाई बुझेर राम्रोसँग सिक्न सके यही क्षेत्रमा राम्रो भविष्य पनि धेरैले बनाएका छन् । धेरै जनाले नाम सँगसँगै राम्रो दाम पनि कमाउन सफल भएको हामीले प्रत्यक्ष देख्न सक्छौँ ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६