टीका खतिवडा
इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेचेका छैनन् । करिब चार मन अलैँची उत्पादन गरेका उनले भाउ बढ्ने आशामा अलैँची नबेची बसेका हुन् । अलैँची रोप्दाको समयमा पाँच वर्षअघि प्रतिमन अलैँचीको मूल्य करिब एक लाख रुपैयाँ थियो ।
के के न होला भनेर लगाइएको अलैँची ऐले भाउ नभएरै मार्यो , उनले भने । हुन त हाल पनि अलैँचीको भाउ नभएको भने होइन । तर पहिलेको तुलनामा एक चौथाइ पनि भाउ छैन । दैनिक भाउ ओरालो लागिरहेकाले गर्दा उनलाई चिन्ता छ । घरमै राख्दा पनि अलैँचीको तौल घटिरहने भएकाले पनि थप चिन्ता लागेको उनी बताउँछन् ।
पहिले एक मन अलैँची बेच्दा एक वर्षभन्दा बढी समयका लागि चामल र परिवारका लागि कपडा किनेर पनि पैसा उब्रिने गरेको किसान खतिवडाले सुनाए । अहिले भने एक मन अलैँचीले एक महिनाको परिवारको खर्च पनि चल्न मुस्किल छ ।
माइजोगमाई गाउँपालिकाका अलैँची व्यापारी मोहन पोख्रेलले पनि दुई वर्ष अघिदेखि खरिद गरेको अलैँची बेचेका छैनन् । अलिक भाउ बढ्ला र अलैँची बेचौँला भन्ने आशामा बसेका उनले भाउ बढेको होइन घट्दै गएको मात्र खबर सुन्ने गरेका छन् । अब त भाउ बढ्ला कि भन्यो झन् झन् भाउ घटेको मात्र सुनाउँछन् , उनले भने ।
उनीहरू जस्ता धेरैले अलैँची बेचेका छैनन् । कारण हो कम भाउ । अलैँचीको भाउ झर्दा जिल्लाका धेरै किसान र व्यापारीहरू अलैँची बेच्न सकिरहका छैनन् । इलामसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्यमा निरन्तर कमी आएसँगै यहाँका किसान तथा ब्यापारीहरूमा निराशा पैदा भएको छ । उत्पादनमा वृद्धि हुनु र भारतको एकाधिकारयुक्त बजार भएका कारण वर्षैभरि मूल्यमा कमी आएका हो ।
पाँच वर्षअघि प्रतिमन एक लाख ४० हजार रुपैयाँ मूल्यसम्ममा बिक्री भएको अलैँची अहिले २२ देखि २८ हजार प्रतिमन खरिद बिक्री भइरहेको छ । दैनिकजसो नै भाउ घटबढ भइरहेको हुन्छ । जिल्लाको मुख्य नगदे बालीको रूपमा रहेको अलैँचीको अहिलेको मूल्य १० वर्षयताकै कम भएको ब्यापारीहरू बताउँछन् । बाह्रै महिना अलैँची खरिद बिक्री भइरहे पनि अलैँची कारोबार हुने अन्तिम समयका रूपमा चैत महिनालाई लिइन्छ । यस यामसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसानहरू हतास भएका हुन् ।
यस यामको सुरुमा पनि प्रतिमन अलैँचीको मूल्य ३२ हजार रुपैयाँ थियो । भाउ बढ्छ भन्ने आशाले घरमै थन्क्याइएको अलैँचीको मूल्य निरन्तर घटी मात्रै रहेको माइजोगमाईका व्यापारी मोहन पोख्रेलले बताए ।
गत वर्ष उत्पादन भएको अलैँची किसानले घरमै थन्क्याएर राखेका छन् । व्यापारीहरूले खरिद गरेको अलैँची पनि गोदाममै थन्क्याइएका छन् । यस वर्षको सुरुमा पनि ब्यापारीहरूले प्रतिमन ३२ हजार रुपैयाँसम्मले खरिद गरेको अलैँची भाउ बढ्ने आशाले अहिलेसम्म गोदाममै थन्क्याएर राखिराखेको अलैँची व्यवसायी महासंघका केन्द्रीय सचिव मात्रिका घिमिरेले बताए । देउमाई नगरपालिकास्थित मंगलबारे बजारका व्यापारी घिमिरेले उत्पादन बढ्दै जाँदा भाउ घट्नु स्वाभाविक नै रहेको बताए ।
उनले महंगो मूल्यमा खरिद गरेको अलैँची भाउ घटेपछि बेच्न नसकेको बताए । असार अन्त्य अन्त्यतिरदेखि अलैँची बजारमा आउन थाल्छ । औल क्षेत्रमा छिटो र लेक क्षेत्रमा मंसिर महिनासम्ममा मात्र अलैँची सुकाएर तयार पार्ने हुन्छ । अलैँची कारोबार हुने मुख्य याम असोज र कात्तिक हो । ती महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखिएका अलैँची यामको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै बेच्नुपर्ने बाध्यता आइलागेको किसानहरू बताउँछन् ।
विगतका वर्षमा अलैँचीमा विभिन्न खालका प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोपको मात्रा हटे पनि मूल्य बर्सेनि ओरालो लाग्दै जाँदा घाटा खानुपर्ने स्थिति आएको बताउँछन् । नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । तर, नेपाल र भारत दुवै देशमा अलैँचीको आन्तरिक उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैँची व्यवसायी बताउँछन् ।
अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमीनमा उत्पादन हुने अलैँची हाल जिल्लामा एक हजार छ सय हेक्टर जग्गामा खेती हुने गरेको अलैँची विकास केन्द्र फिक्कलको तथ्याङ्क छ ।
अलैँची बढी उत्पादन भएपछि भाउ घटेको विज्ञको भनाइ छ । चाहिँदो जति अलैँची भारतका विभिन्न भूभागमै उत्पादन हुनु, अलैँचीमा नक्कली अलैँची (चुरुम्फो) मिसाइनु लगायतका कारण पनि यस्तो समस्या आएको व्यापारीहरू बताउँछन् ।
अलैँची प्रशोधन गर्ने उद्योग नेपालमा नै नभएका कारण पनि बजारका लागि भारतमै निर्भर रहनुपरेको हो । यसको विकल्प नखोजिँदासम्म यस्तो समस्या रहिरहने छ । अलैँची व्यवसायी महासंघका केन्द्रीय सचिव घिमिरेले गएको वर्ष सात अर्ब रुपैयाँभन्दा माथिको अलैँची निर्यात भएको बताए । उनका अनुसार त्यस अगाडि पाँच अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । यस वर्ष भाउ घटे पनि अलैँची निर्यात भएर आउने रकम भने नघट्ने उनको भनाइ छ ।
भारत भन्दा बंगलादेश, दुबई, कतार लगायतका देशमा पनि अलैँची निर्यात गर्न सकिने तर, ब्यापारीको मात्रको प्रयासले त्यो प्रयास सम्भव नहुने बताइन्छ । महासंघका सचिव घिमिरेले आफूहरू विभिन्न देशको भ्रमण सकेर आएको जानकारी दिँँदै सरकारका तर्फबाट कूटनीतिक प्रयास जरुरी रहेको बताए । -रासस
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६