भद्रपुर : झापाका अधिकांश स्थानमा दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले चेतनामूलक पोस्टरहरू टाँस्न थालेको छ ।
कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न सुरु गरेको हो ।
केही दिनयता बाहुनडाँगीको बस्ती नजिकैको चिया बगान र अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित किसानका उखुबारीमा बच्चासहित आधा दर्जन हात्ती दिउँसै पसेर गाउँलेलाई आतंकित पारेपछि वन कार्यालयले जंगली हात्तीको आक्रमणबाट जोगिन आवश्यक पर्ने कुराहरू लेखेर पोस्टर टाँस्न थालेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
पोस्टरमा सानो बच्चासहित हात्ती रहेको, जम्काभेटमा अचानक हात्तीको नजिक पुगेको अवस्थामा, चरिरहेको बेला जिस्काएर होहल्ला गरेमा, आगोको अगुल्टा वा कुनै वस्तुले हात्तीलाई हानेमा पनि आक्रमण गर्नसक्ने उल्लेख गरिएको छ । हात्तीको शारीरिक हाउभाउ हेरेर रिसाएको वा नरिसाएको थाहा पाउने तरिका र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने हाम्रा कर्तव्यको बारेमा समेत बँुदागत रूपमा पोस्टरमा उल्लेख गरिएको छ ।
उनका अनुसार झापाको हल्दिबारी, बुद्धशान्ति गाउँपालिका, भद्रपुर, अर्जुनधारा, मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनमा १३ भन्दा बढी रैथाने हात्ती छन् । किसानले लगाएको मकै, धान पाक्न सुरु गरेसँगै हात्ती गाउँ पस्न थालेको उनको भनाइ छ ।
प्रमुख घिमिरेले हात्ती प्रभावित क्षेत्रमा साइरनसहितको गाडी लिएर वन हेरालुहरूले दिनरात गस्ती गरिरहेको बताए । मानव–हात्ती द्वन्द्वको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०६७/६८ देखि चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा झापाका ३८ जनाले हात्तीका कारण ज्यान गुमाइसकेका छन् । मान्छेका कारण १० हात्ती मरेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६