झापा : सहारा नेपालको आयोजनामा झापाको बिर्तामोड–७ मा शुक्रबार निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
उक्त शिविरमा छ हजारभन्दा बढी पशुपक्षीको उपचार गरिएको जनाइएको छ । पशु चिकित्सक डा कमलेश्वर भाटका अनुसार शिविरमा तीन सय परिवार लाभान्वित भएका छन् ।
तीन पशु चिकित्सकसहितको टोलीले पशुपक्षीको उपचार गरेको थियो । शिविरमा गाई, भैँसी, सँगुर, बाख्रा, कुकुर, कुखुरालगायतको उपचार गरिएको थियो ।
प्रयोगशालासहितको शिविरमा पशुको बन्ध्याकरण, गर्भ परीक्षण, बाँझोपन निवारण, परजीवी नियन्त्रण, गोबर परीक्षण, साल झार्नेलगायत काम गरिएको डा भाटले जानकारी दिए ।
शिविरमा स्थानीयवासीलाई पशुपालन सम्बन्धी परामर्श तथा पशु बीमा सम्बन्धी जानकारी गराइएको थियो । शिविरमा एक लाख ८० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६