वेस्ट इन्डिजले पाकिस्तानमाथि सात विकेटको जित हासिल गर्दै इङल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकपमा सुखद सुरुआत गरेको छ।
कसिलो बलिङमार्फत पूर्व च्याम्पियन पाकिस्तानको इनिङ १ सय ५ रनमा सिमित गरेको वेस्ट इन्डिजका लागि क्रिस गेलले ३४ बलमा ६ चौका र ३ छक्कासहित ५० रन बनाएपछि क्यारेबियन टोली १३.४ ओभरमै लक्ष्य हासिल गर्न सफल भयो।
अविजित रहेका निकोलस पुरनले ३४ तथा सिमरोन हेटमेयरले ७ रन बनाएपछि वेस्ट इन्डिज निर्धारित ओभरको २ सय १८ बल बाँकी रहँदै १ सय ८ रन बनाएर जित हासिल गर्न सफल भयो । गेलका ओपनिङ पार्टनर शाई होपले ११ रन जोडे भने चार बल खेलेका डारेन ब्राभो खाता खोल्न नपाउँदै पवेलियन फर्किए।
यसअघि दुई पटकको विश्वकप विजेता वेस्ट–इन्डिजले कसिलो बलिङसामु फितलो साबित भएको पाकिस्तान १ सय ६ रनको झिनो योगफलमा सिमित भएको थियो। फकर जमान र बाबर आजमले जोडेको समान २२ रन पाकिस्तानी टोलीको उच्च स्कोर थियो।
वाहब रियाज १८ रनमा आउट हुँदा मोहम्मद हाफिजले १६ र बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
वेस्ट–इन्डिजका लागि ओसन थोमसले ५.४ ओभरमा २७ रन दिँदै सर्वाधिक ४ विकेट लिए । त्यस्तै, कप्तान जेसन होल्डरले ५ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए। आक्रामक बलिङ गरेको वेस्ट–इन्डिजका लागि आन्द्रे रसेलले २ तथा सेल्डोन कोट्रेलले १ विकेट लिए।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६