घटना नम्बर–१
गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटे भन्ने ठाउँमा दुई परिवारका नौ जनाको बीभत्स हत्या भयो । जसमा एक बालिकाले भागेर आफ्नो ज्यान जोगाइन् ।
जेठ ७ गते अर्थात् घटना भएको केही घण्टाभित्रै रूखमा झुन्डिएको अवस्थामा एक युवकको शव भेटियो । त्यो शव हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमको थियो । प्रहरीले उनको शवनजिकै रगत लत्पतिएको खुकुरी तथा कपडा फेला पारेको थियो ।
अन्ततः नौ जनाको हत्या गरेपछि मानबहादुले आत्महत्या गरेको निचोड निकालियो । उनले गरेको कल रेकर्ड र त्यसअघि पनि हत्याको प्रयास भएको लगायतका प्रमाणका आधारमा प्रहरीले मानबहादुरले नै हत्या गरेको निष्कर्ष निकाल्यो ।
घटना नम्बर–२
पाँचथर हत्याकाण्ड सेलाउन नपाउँदै भोजपुरमा अपत्यारिलो घटना भयो । भोजपुरको सदरमुकामस्थित पानीट्यांकीमा आफ्नै आमाले २२ महिने बालकको निर्मम हत्या गरेको खबर सार्वजनिक भयो ।
रामप्रसाद राई गाउँपालिका बासिखोरा घर भएकी २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको खुकुरीले अचानोमा राखी घाँटी काटेको घटना दर्दनाक छ । आमा सम्झनाको मानसिक सन्तुलन कमजोर भएको हुनसक्ने प्रारम्भिक अनुमान थियो ।
घटना नम्बर–३
रुकुमपूर्वको भुमे गाउँपालिका–७ गुनामका २० वर्षीय विरत विकले खुकुरी प्रहार गरी आफ्नै बाबुको हत्या गरे । विरतले गत जेठ ९ गते बिहान आफ्नै बुबा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
घरायसी विवादका कारण उनले बाबुको हत्या गरेको प्रहरीको भनाइ छ ।
यी माथिका घटना त केही उदाहरण मात्र हुन् । यस्ता प्रकृतिका घटना अनगन्ती छन् अहिले नेपालमा ।
पछिल्लो समय भएका आपराधिक घटना सहजै पत्याउन हम्मे पर्नेखालका छन् । श्रीमानद्वारा श्रीमती, आफ्नै छोराद्वारा बाबु, श्रीमतीद्वारा श्रीमान्, आफ्नै साथी, आफ्नै आफन्तको बीभत्स हत्याका घटना दिनहुँजसो सार्वजनिक हुन थालेका छन् । जुन सहजै पत्याउन मुस्किल पर्छ ।
मानिसले आफन्त, परिवारकै मानिसको हत्या कसरी गर्न सक्छ ? भन्ने प्रश्नले नै धेरै मानिसको आङ जिरिंग हुन्छ ।
फेरियो ‘क्राइम ट्रेन्ड’
पछिल्लो समय क्राइमको ‘टे«न्ड’ फेरिएको छ । कुल घटनाको ८० प्रतिशत अपराध चिनजान, छरछिमेक, नातागोता, आफन्तबाट नै हुने गरेका छन् । पाँच सय हत्याका घटना अध्ययन गर्दा एक सय ५३ घटना श्रीमान्ले श्रीमती तथा २६ वटा घटना श्रीमतीले श्रीमान्को हत्या गरेको देखिन्छ ।
‘आर्थिक किचलो’ हत्याको मुख्य कारण
अपराधको प्रमुख कारण ‘आर्थिक किचलो’ रहेको प्रहरीको बुझाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदी प्रायःजसो तराईमा श्रीमान्ले श्रीमतीको हत्या गर्नुको प्रमुख कारण दाइजो रहेको बताउँछन् । त्यस्तै सामाजिक सञ्जालको दुरुपयोगका कारण यस्ता घटनामा वृद्धि भएको उनको भनाइ छ ।
‘यस्ता विकृति सामाजिक विकृति हुन् । घटना समाजमै घट्छ । सामाजिक कारणले गर्दा घट्छ । सामाजिक विकृति न्यूनीकरण गर्नु समाजकै दायित्व हो’, सुवेदी भन्छन्, ‘त्यसैले हामीले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई तीव्रता दिएका हौँ ।’
आफन्तबाटै हुने घटनाका पीडकहरूबारे अध्ययन गर्दा धेरै पीडकहरूको पृष्ठभूमि आपराधिक नदेखिने प्रहरीको भनाइ छ । यसलाई मानसिक विकृति पनि भन्न सकिने र न्यूनीकरणका लागि समाज नै लाग्नुपर्ने विज्ञहरूको भनाइ छ ।
के भन्छन् मनाेविद् ?
विश्वास नेपालमा सन् २००४ देखि कार्यरत मनोपरामर्शकता निरु श्रेष्ठका अनुसार यस्ता घटनाहरू मनोसामाजिक समस्याका कारण हुने गर्दछन् ।
‘जब मानिसको परिवार र समाजसँग तालमेल मिल्दैन तब मानिसले सकारात्मक कुरालाई पनि नकारात्मक दृष्टिकोणबाट हेर्न थाल्छ’ उनी भन्छिन्, ‘उसको दिमाग नै नकारात्मकतातर्फ उन्मुख हुन्छ । उसको मानसपटलले सही र गलत छुट्याउन सक्दैन ।’
उनका अनुसार पछिल्ला घटनाहरू यस्तै प्रकृतिका छन् । यस्ता घटना हुनुअघि घटना घटाउने व्यक्तिले कुनै संकेत देखाउने उनी बताउँछिन् । ‘तर त्यसलाई बुझ्न सहज भने छैन । जब परिवारमा कलह सिर्जना हुन्छ । तब परिवारले कलह सिर्जना हुनुको कारण नहेरी कलह सिर्जना गर्नेलाई मात्र दोषी देखाउँछ’, उनी भन्छिन्, ‘अर्थात् समाज नै उल्टोपट्टि लाग्छ । त्यसले गर्दा घटना हुने गरेको देखिन्छ ।’
मानिसको भावनाको कदर नहुँदा पनि घटना भइरहेको उनको बुझाइ छ । परिवारभित्र पनि सही कुरालाई नकारात्मक ढंगबाट हेर्ने व्यक्तिको भावनाको सम्बोधन गर्ने प्रत्यन गरिनुपर्ने उनको सुझाव छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६