पाँचथर : दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन सुरु गरिएकाे छ ।
पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरूको सक्रियतामा १० लाख रुपैयाँको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताइन् ।
यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्व तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्गदेम्बे संरक्षक रहने गरी ११ सदस्यीय समिति गठन गरिएको छ ।
उनका अनुसार अभियानका क्रममा हालसम्म दुई लाख रुपैयाँ जुटिसकेको छ । १० लाख रुपैयाँ जम्मा गरिने कोषबाट बालिकाको शिक्षासहित पालनपोषणमा सहयोग पुर्याउने उनले सुनाइन् ।
यसैबीच अभियानकी संयोजक रिजालसहितको टोलीले दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी बालिका खजुमको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएको छ ।
गत जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या भएको थियो । उक्त घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । प्रहरीको निगरानीमा उपचार गराइरहेकी बालिकाको प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने बताइएको छ ।
यसैबीच दमकका सामाजिक व्यक्तित्व घनेन्द्रराज योङयाले बालिकाको पालनपोषण गर्न चाहेको बताएका छन् । परिवारले दिए बालिकालाई छोरीका रुपमा आफूले जिम्मा लिन तयार रहेको योङयाले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६