काठमाडौं : यस वर्षदेखि बर्सेनि निरन्तरता दिने योजनासहित सगरमाथा सरसफाइ अभियान सुरु भएको छ । अभियानबाट १०.९ टन फोहोर र चरवटा पुराना शव संकलन भएको छ । संकलित फोहोरको व्यवस्थापन भइरहेको छ ।
यसवर्षको सरसफाइ अभियानमा आयोजक र प्रायोजकको नाममा तीन दर्जन हाराहारी संघसंस्था जोडिए । तर सगरमाथाको ‘क्याम्प फोर’ को फोहोर जस्ताको तस्तै रहेको आरोहीहरू बताउँछन् । सरसफाइ अभियानको समयावधि छोटो हुँदा सफा हुन नसकेको उनीहरू बताउँछन् ।
सगरमाथाको १४ पटक आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पाका अनुसार प्रचार धेरै भए पनि नीति राम्रो नहुँदा फोहोर खासै धेरै संकलन नभएको हो । उनले भने, ‘नौटंकी धेरै भयो । क्याम्प फोरको फोहोर आउँदै आएन । सरकारले खटाएको जनशक्ति कम भयो भने ढुवानी ज्याला कम हुँदा अरूले ल्याउने चासो नै गरेनन् ।’शेर्पाका अनुसार सरसफाइ अभियान सफल बनाउका लागि ढुवानी ज्याला राम्रो दिने हो भने आउँदा सबैले ल्याउन सक्छन् । ज्यान जोखिममा राखेर काम गर्नेहरूलाई राम्रो पैसा दिइयो भने फोहोर संकलन तथा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
राम्रो नीति बनाएर ढुवानी गर्नुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने उनको माग छ । उनी भन्छन्, ‘सगरमाथाको आधार शिविरदेखिको सबै फोहोर अनिवार्य ल्याउनुपर्ने नीति बनाएको भए अहिले चिन्ताको विषय नै बन्दैनथ्यो ।’ खाद्यान्न तथा ग्यासजन्य पदार्थहरू माथि लैजाने गरे पनि फर्कंदा अनिवार्य ल्याउने नीति आवश्यकता रहेको उनको भनाइ छ ।
त्यस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’ को झण्डा सगरमाथाको शिखरमा फहराएर काठमाडौं फर्किएकी कान्छीमाया तामाङले दुःख व्यक्त गरिन्, ‘१०/१२ जनाको टोली खटाएर मात्र फोहोर संकलन सम्भव हुँदैन ।’
अभियानमार्फत फोहोर संकलन गरेर साध्य नभएको हुँदा स्पष्ट नीति आवश्यक हुने उनको भनाइ छ । केही वर्ष अभियानमार्फत् संकलन गरेर अहिलेको थुप्रिएको फोहोर उठाउनुपर्छ भने आगामी दिनमा हरेक आरोही र आरोहण सहयोगीले कुनै पनि फोहोर माथि छाड्न नमिल्ने नियम बनाए मात्र सगरमाथाको साख रहने उनको भनाइ छ ।
त्यस्तै २४ पटक सगरमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले पनि फोहोर संकलन चुनौती भएको बताए । उनको भनाइमा सगरमाथाको शिखरदेखि आधार शिविरसम्मै प्लास्टिक, धातु, सिसी र मानव मलमूत्र थुप्रिएको छ । ज्यानको जोखिम रहेको र अप्ठ्यारो हिमाली क्षेत्रमा सफाइ गर्न जानेहरूलाई पारिश्रमिक र सुविधा बढाउनुपर्ने उनको सुझाव छ ।
केही सफलता
यस वर्षको अभियानबाट राम्रै फोहोर संकलन भएको सगरमाथा सरसफाइ अभियान कार्यान्वयन कमिटीका संयोजक नेपाली सेनाका सेनानी दीपेन्द्र न्यौपानेले बताए । उनका अनुसार यस वर्ष सबै फोहोर संकलन गर्ने उद्देश्य नभएकाले विस्तारै पूर्ण सरसफाइ हुने भएकाले सबैले निरन्तर सहयोग र समन्वय गर्न आवश्यक छ ।
क्याम्प फोरबाट थोरै मात्र फोहोर आएको उनले स्वीकार गरे । सगरमाथा सरसफाइ अभियान कार्यान्वयन कमिटीका अनुसार अझै क्याम्प फोरमा मात्र १० टनभन्दा बढी फोहोर रहेको बुझिएको हुँदा यो संकलन र व्यवस्थापनका लागि आगामी कार्यक्रम तयारी गर्नु आवश्यक छ ।
यस अभियानलाई सफल बनाउन सरोकारवाला निकायहरू समन्वय र सहकार्य गरेर लगातार संवाद हुन जरुरी रहेको र फोहोर सफा गर्नेभन्दा पनि फोहोर नै हुन नदिनेतर्फ ध्यान दिन जरुरी रहेको सगरमाथा अभियान समितिको पनि सुझाव छ । जसका लागि हिमालमा प्रयोग हुने सामानहरूको बारकोड राख्ने, कडा अनुगमन तथा आफूले गरेको फोहोर आफैँ ल्याउने कडा नीति अवलम्बन गर्नुपर्ने सुझाव छ ।
सगरमाथा आरोहण पूरा भएको अवसरका नाम्चेमा भएको सरसफाइ अभियानको फोहोर प्रदर्शन तथा प्रगतिको बारेमा जानकारी गराउँदै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिइएको हो ।
सगरमाथा सरसफाइ अभियानको आयोजकमा रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, वन तथा वातावरण मन्त्रालय, प्रदेश नम्बर १, सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाल पर्यटन बोर्ड, पर्वतारोहण संघ लगायतले आयोजना गरेका हुन् ।
सगरमाथा सम्बन्धी विश्व रेकर्डहरू :
- १९२२ मा हिमपहिरोमा परी सात जना शेर्पा शेर्पाहरूको मृत्यु भएको थियो ।
- मे २९ १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा शिखरमा पाइला राखेका हुन् ।
- मे २० १९६५ मा दुई पटक हिमाल चढ्ने ङ्वाङ गोम्बु शेर्पा हुन् । १७ जना आरोहीहरूमा उनी दुई पटक आरोहण गर्ने ११औँ व्यक्ति हुन् ।
- मे १६ १९७५ मा जापानकी जूनको तावेइ सगरमाथा शिखर चुम्ने पहिलो महिला बनिन् ।
- १९७८ मे ८ मा अक्सिजनबिना आरोहण गर्ने पहिलो व्यक्ति अस्ट्रियाका पिटर र इटलिका राईनहोल्ड ह्याबलर हुन् ।
- क्रिस्तोफ वुईलिकी सन फेबु्रवरी १७, १९८० मा जाडो महिनामा सगरमाथा आराहण गर्ने पहिलो व्यक्ति हुन् ।
- अक्टोबर १४ १९८८ मा न्युजिल्यान्डका लेडिया ब्राडि बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् ।
- पहिलोपटक विवाहित जोडीले एकसाथ सगरमाथा आरोहण गरेको कीर्तिमान स्लोभाकीयाली नागरिक आन्द्रेज र मारिजा स्ट्रीमफेलीजले ७ अक्टोवर १९९० मा राखेका थिए । मारिजा स्लोभेकियाकी पहिलो महिला आरोहीसमेत हुन् ।
- बाबुछोराद्वारा सगरमाथाको आरोहणको कीर्तिमान फ्रान्सेली नागरिक जेन नोइल रोसे र उनका छोरा रोसे बर्टट्रेन्डको नाममा छ । ७ अक्टोवर १९९० मा आरोहण सकेर फर्कने क्रममा उनीहरू साउथ कोलबाट टेन्डम (जोडी) प्याराग्लाइडिङ गर्दै आधार शिविरमा झरेका थिए ।
- सन् १९९२ मा दुई स्पेनिस दाजुभाइ अल्ब्रेटो र फ्लिक्सले एकसाथ आरोहण गरी सहोदर दाजुभाइले आरोहण गरेको कीर्तिमान राखेका छन् ।
- २३ अप्रिल १९९३ मा पहिलोपटक नेपाली चेलीले सगरमाथा आरोहण गरेको कीर्तिमान बन्यो । पासाङ ल्हामु शेर्पाले उक्त कीर्तिमान राखिन् । आरोहण पूरा गरी झर्ने क्रममा उनको निधन भयो ।
- सन् १९९८ मा अमेरिकी नागरिक थोमस हृवीटकर सगरमाथा चढे । उनको एक खुट्टा कृत्रिम थियो ।
- मे १६, २००७ मा मानव इतिहासमा पहिलोपटक आप्पा शेर्पा र लाक्पा गेलु शेर्पाद्वारा संयुक्तरुपमा ‘सगरमाथा आधार शिविरबाट’ नामक पुस्तक सगरमाथा शिखरबाट विमोचन गरियो । जसका लेखक प्रतीक ढकाल हुन् ।
- सोही दिन कामीरिता शेर्पा, सोनम शेर्पा, लाक्पा शेर्पा, गेल्जे शेर्पा र दा छम्बा शेर्पाले सयुक्त रुपमा अर्को किताब साझा प्रकाशनद्वारा प्रकाशित ‘सेती पानी काली पानी’ नामक पुस्तक विमोचन गरेका थिए । जसको लेखक पनि प्रतीक ढकाल नै हुन् ।
- नेपालका बाबुछिरी शेर्पा सगरमाथा चुचुरोमा रात बिताउने एक मात्र आरोही हुन् । सन् १९९९ मा उनले चुचुरोमा २१ घण्टा बिताएका थिए । त्यसबेला उनले सबैभन्दा छिटो आरोहण (१६ घण्टा ५६ मिनेट) को पनि कीर्तिमान राखेका थिए । अहिले भने सबैभन्दा छिटो आरोहण गर्ने कीर्तिमान पेम्बा दोर्जी शेर्पाको नाममा छ । उनले २१ मे २००४ मा ८ घण्टा १० मिनेटमा आधार शिविरबाट चुचुरोमा पुगेको कीर्तिमान बनाएका छन् ।
- नेपालका लाक्पा शेर्पा सगरमाथा शिखरमा पुग्ने दोस्रो महिला बनिन्् मे १८, २००० मा ।
- नेपाली जोडी मोनी मुलेपाती र पेम दोर्जीले ३० मे २००५ मा एकसाथ सगरमाथा आरोहण गरे र चुचुरोमै विवाह गरे ।
- खुम्जुङ ९ सोलुखुम्बूका लाक्पा थार्के शेर्पा जो २५ वर्षका थिए, २४ मे २००६ मा सफल आरोहणपछि चुचुरोमा पुगेर निर्वस्त्र हुने आरोही हुन् लाक्पा थार्के शेर्पा । माइनस ४० डिग्री तापक्रम रहने सगरमाथा चुचुरोमा उनी ४ मिनेट शरीरको माथिल्लो भागको सबै कपडा फुकालेर बसेका थिए ।
- मे ५ २००८ मा म्याग्दीका मीनबहादुर शेरचन ७६ वर्षको उमेरमा सफल आरोही बनेका छन् । उनी सगरमाथा आराहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीका रेकर्ड बनाउने व्यक्ति हुन् ।
- कान्तिपुर दैनिकका संवाददता आङछिरिङ शेर्पाले मे २२, २००३ मा सगरमाथा आरोहण गरेका थिए । उनी नेपाली पत्रकारितामा पहिला आरोही बनेका हुन् ।
- २००८ मे २२ मा ४८ वर्षको उमेरमा आप्पा शेर्पाले १८ पटक आरोहण गर्ने पहिलो नेपाली हुन् ।
- २०११ मा आप्पा शेर्पाले २१औं पटक सगरमाथा आरोहण गरे ।
- २०१९ मा कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेर आफ्नै नाममा भएको रेकर्ड तोडेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६