बाँसुरीको धुन जस्तो मीठो कहाँ हुने रहेछ र जीवन । बाँसुरी पनि बजाउन जान्नेले पो मीठो अनि सुनिरहँु लाग्ने बजाउँछन् त सबैले कहाँ बजाउन जान्दछन् र... यस्तै हो जीवन पनि । दुःख गर्न सक्ने र पीडा सहन सक्नेको मात्र जीवन पनि हाँसीखुसी बित्छ, सुख पाउँछन् । नभए दुई दिनको जीवन पनि दुई वर्ष जति लामोे लाग्छ । सुख दुःखलाई बराबर लिनुपर्छ ।
काठमाडौंका विभिन्न ठाउँ घुमेर बाँसुरी बेच्दै हिँड्ने खुस्बु दिनले भनेको कुरा हो यो ।
भारत घर बताउने खुस्बु दिन विभिन्न चाडबाड दसैँ, तिहार लगायत अन्य विभिन्न अवसरको मौका पारेर नेपाल आएर बाँसुरी बेच्ने अनि फेरि भारत फर्किंदा रहेछन् । व्यापारको कुनै ठेगान नहुने बताउने उनले त्यही बाँसुरी बेचेर आफ्नो सात जनाको परिवार धानिरहेको सुनाए ।
उनले भने, ‘पाँच जना छोराछोरी अनि श्रीमती घरमा छन् । छोराछोरी पढिरहेका छन्, म एक्लैले कमाउँछु । मेरो परिवार नै सबथोक हो । उनीहरूलाई पाल्नु मेरो जिम्मेवारी अनि कर्तव्य हो ।’
अनि तपाईं एक जनाको कमाइले पुग्छ त ? भनेर सोध्दा खुस्बु भन्छन्, ‘पुर्याउनुपर्छ नि त । पुग्न त जति जनाले जति धेरै कमाए पनि पुग्दैन । तर मैले त कमाउँछु । बिहान बेलुकीको छाक टार्छु । यतिमै छ मेरो खुुसी । मेरो अरू पेसा छैन, यही बाँसुरी बनाउँछु अनि बेच्छु । पुगिहाल्छ नि, अहिलेसम्म पुर्याउँदै आएको छु त ।’
उनले बाँसुरी व्यापार सुरु गरेको १९ वर्ष भइसकेछ । एक दिनमा पाँच सयदेखि दुई हजारसम्मको व्यापार हुने उनी बताउँछन् । उनी भन्छन्, ‘कहिलेकाहीँ कत्ति पनि व्यापार हुन्न ।’ महिनामा १० हजार देखि १५ हजारसम्म कमाइ हुने उनी बताउँछन् ।
बाँसुरी बनाउने सीप आफैँसँग भएका कारण आफैँले बाँसुरी बनाएर इन्डियादेखि नेपाल आइपुग्छन् । उनले ५० रुपैयाँदेखि हजार रुपैयाँसम्म पर्ने बाँसुरी बनाएर बेच्दा रहेछन । उनी भन्छन्, ‘चाडबाड अनि विभिन्न अवसरको मौका पारेर नेपाल आएर बाँसुरी बेच्छु र फेरि इन्डिया फर्किन्छु । एक दिनमा कहाँदेखि कहाँ पुग्छु थाहा हुन्न । धेरै हिँड्नुपर्छ खुट्टा दुख्छ ।’
एउटा बाँसको डन्डीमा लहरै सजाएको बाँसुरी बोकेर उनी पशुपति, रत्नपार्क, फनपार्क लगायत काठमाडौंमा मानिसहरूको जहाँ अलिक बढी भीड अर्थात् चलखेल हुन्छ, त्यहाँसम्म बाँसुरी बेच्नका लागि पुग्ने उनी बताउँछन् ।
जेठ ११ गते शनिबार काठमाडौंको टुँडिखेलमा किराँतहरूको साकेला नाच भइरहेको समयमा यो पंक्तिकारलाई उनीसँग कुरा गर्ने मौका मिलेको थियो । तर उनलाई त्यो नाचको बारेमा खासै केही थाहा थिएन ।
उनी बाँसुरी बोकेर यताउता गरिरहेका थिए । व्यस्त पनि देखिन्थे, कुरा गर्न खासै मानिरहेका थिएनन् । तर पनि कुरा गर्नका लागि अनुरोध गर्दा उनले बल्ल मानेका थिए ।
कम्मरमा पनि सानो झोलामा १४÷१५ ओटा जति बासुरी बोकेका थिए । कुनै बाँसुरीका आकार मोटो अनि ठूला देखिन्थे । उनी भन्छन्, ‘यी बाँसुरीहरू ए स्केल, बि स्केल, सी, अनि डी स्केलका हुन् ।’
दसैँ तिहार लगायत अन्य चाडका बेला नेपाल आएर व्यपार गर्छन् र भारत गएर पनि नेपालमा जस्तै हिँड्दै व्यापार गर्छन् उनी । अनि फेरि वैशाखमा नेपाल आएर जेठसम्म व्यापार गेरेर फेरि घर उनी घर फर्किंदारहेछन् ।
खुस्बु दिन भन्छन्, ‘नेपाल र इन्डिया त पानी पँधेरो जस्तै भइसक्यो, आउँछु जान्छु । आउनु जानुको कुनै ठेगान हुँदैन ।’ अनि यसरी आउँदा जाँदा बाटोमा कत्तिको समस्या हुन्छ त ? भनेर सोध्दा उनले भने, ‘समस्या भन्ने कुरा एकैठाउँ बसिरहँदा पनि हुन्छ तर टार्न पो सक्नुपर्छ त ।’ उनको साहसले गर्दा नै उनलाई सहज भइरहेको उनी सुनाउँछन् ।
हेर्दा करिब ५० वर्षका देखिने उनी, उमेर भन्न संकोच मानिरहेका थिए । उमेर भन्न किन संकोच माने, थाहा भएन । तर उनको त्यो मेहनत, निरन्तरता अनि साहसलाई कदर गर्नुपर्छ । उनीबाट केही कुराको ज्ञान लिनुपर्छ जस्तो लाग्छ ।
खुस्बु दिन भन्छन्, ‘जे काम गरे पनि मनदेखि गर्नुपर्छ । धैर्यता, निरन्तरता अनि कामप्रति लगाव राख्नुपर्छ, सफल बन्न नसके पनि सानोसानो कुरामा नै भए पनि खुसी हुन सिक्नुपर्छ ।’
बाँसुरी व्यापारले धानिरहेको उनको परिवारको बारेमा अझ जान्न खोज्दा उनी भन्छन्, ‘हामी दुःखीहरूको जीवन बुझेर तपाईं के गर्नुहुन्छ ? आफ्नो तकदिरमा जे छ त्यही भोग्नुपर्छ ।’
हुन पनि हो, मैले उनको सबै कुरा अनि समस्या बुझेर के नै गर्न सक्छु होला र ! तर पनि मलाई लाग्यो उनको यी कुरा सबैसामु त पुर्याउन त सक्छु ।
हामी नेपालका युवा काम पाएनौं भनेर भौँतारिइरहेका हुन्छौं । तर हाम्रै देशमा अर्को देशबाट आएर मेहनत र संघर्ष गरेर खुस्बु दिन जस्ता कैयौंले आफ्नो परिवार पालिरहेका छन् । खुस्बु दिनको त्यो मेहनत अनि संघर्षबाट हामीले पनि पाठ सिक्न जरुरी छ । काम कुनै सानो ठूलो हुँदैन, सानो ठूलो हुन्छ त केवल हाम्रो सोच ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६