काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार अधिकृत अर्याल विसं २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि परीक्षण गरिएको गत मंसिरसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा अनधिकृतरुपमा चल÷अचल सम्पत्ति जोडेको पाइएको छ ।
अधिकृत अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, अंश नगद र जग्गा बिक्री लगायतबाट दुई करोड ४९ लाख ९२ हजार सा सय ३० रुपैयाँबराबरको आय वैध छ । तर सोही अवधिमा अर्यालले आफू र श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल÷अचल सम्पत्ति तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात गरी कूल चार करोड ५६ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।
वैध आयको तुलनामा स्रोत नखुलेको दुई करोड छ लाख ८९ हजार एक सय ११ रुपैयाँबराबरको सम्पत्ति देखिएकाले आयोगले अधिकृत अर्याल र उनकी श्रीमती सरिता नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६