लम्की: कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् ।
युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका छन् । सो भवनमा कार्यालय, पुस्तकालय र १०० जना अट्ने हल छ । सरस्वती मन्दिर भने हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले एक लाखको लागतमा आमाको सम्झनामा निर्माण गरिदिएकाे हाे ।
क्रिएटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा मात्रै ११ लाखभन्दा बढी रकम खर्च भएको छ । स्थानीयवासीले छ लाख बराबरको जनश्रमदान गरेका छन् । विद्यालय भवन निर्माणका लागि ११ लाख १२ हजार सहयोग सङ्कलन भएको बताए । त्यो सबै रकम सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्कलन गरिएको हो ।
अध्यक्ष सुनारले भने ‘हामीले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई रुखमुनि राखेर पढाइरहेको देख्यौँ । सुदामाले प्रतिविद्यार्थी एक रुपैयाँ शुल्क लिएर बालबालिकालाई अतिरिक्त शिक्षा प्रदान गर्दै आउनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६