झापा : पाँच दाताले निःशुल्क दान गरेको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ । बिहीबार भवनको शिलान्यास गरिएको छ ।
तीन करोड ९० लाख ७९ हजार तीन सय रुपैयाँमा हल्दिबारी–५ स्थित धनुषपोखरी नजिकै दाताले प्रदान गरेको एक बिघा नौ कठ्ठा जमिनमा निर्माण हुन लागेको गाउँपालिका भवनको शिलान्यास स्थानीय जनप्रतिनिधिले नै गरेका थिए ।
आगामी चैतसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।
भूकम्प प्रतिरोधी कार्यालय भवनको ऐतिहासिक तथा पुरातात्विक महत्वको धनुषपोखरीको पहिचानलाई स्थापित गराउने उद्देश्यले धनुष आकारकै डिपिआर बनाएर कार्यालय भवन बनाउन लागेको अध्यक्ष लिङ्देनले बताए ।
उनका अनुसार भवन बनाउन जग्गादाता सन्तोष माङपुङले चार कठ्ठा, माइतराज राईले एक कट्ठा, तिलबहादुर सुवेदीले चार कठ्ठा, भुपाल लिम्बूले १० कठ्ठा र खर्कमाया साम्सुहाङले १० कठ्ठा जमिन उपलब्ध गराएका छन् । -रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६