घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती भएकाे उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरेको हो ।
इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो । इंग्ल्यान्डलाई सहज जित दिलाउन तीब्र गतिका युवा खेलाडी जोफ्रा आर्चरले ७ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै लियाम प्लन्केट र बेन स्टोक्सको नाममा समान २ विकेट रह्यो । मोइन अली र आदिल राशीदले पनि समान १ विकेट लिए ।
त्यसअघि ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र इमरान ताहिरको नाममा समान २ विकेट रह्यो । त्यस्तै एन्डिले फेलुक्वायोले १ विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६