विराटनगर : नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय निर्माण हुने भएको छ ।
विराटनगर–७ स्थित कोइराला निवासमा बन्ने संग्राहालयको जीपी फाउन्डेसनकी अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले बिहीबार कार्यक्रमका बीच शिलान्यास गरिन् ।
स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सवै बस्तु संग्रहालयमा राखिने छ । फाउन्डेसन अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दाबी गर्दै उनकै सम्झनामा संग्रहालय निर्माण हुन लागेको बताइन् ।
प्रदेश सरकारको ४० लाख, समाजिक विकास मन्त्रालयको २० लाख र विराटनगर महानगरको १५ लाख रूपैयाँको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गरिँदै छ । कुल चार करोड रुपैयाँ खर्च गरेर निर्माण हुने संग्रहालय चार तल्लाको हुने छ ।
स्वर्गीय कोइरालाले सुत्ने ओछ्यानदेखि निजी जीवनमा प्रयोग गर्ने सबै सामग्री संग्रहालयमा प्रदर्शनीमा राखिने छ । त्यस्तै विदेशी राष्ट्राध्यक्षसँग खिचेका फोटो, लत्ताकपडालगायतका सामग्री राखिने छ । संग्रहालयमा पिताजी कृष्णप्रसाद कोइरालाका पाँच छोरा मातृका, बिपी, केशव, गिरिजा र तारिणीप्रसादका सबै सामग्री प्रदर्शनीमा राखिने बताइन् ।
प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्रहालय अवलोकन गर्न विदेशीहरू पनि आउने उनको दाबी छ । कार्यक्रममा प्रदेशसभा सांसद् केदार कार्की, विराटनगरका मेयर भीम पराजुलीले संग्रहालयको निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास, फाउन्डेसनका प्रदेश १ अध्यक्ष इन्दिरा थापा लगायतले धारणा राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६