जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्छ ।
यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरूले जनाएका छन् । यस प्रयोजनका लागि चारवटा रोबोट परिचालन गरिनेछ ।
स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार ती रोबोट १.२० मिटर उचाइका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिनेछ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।
रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट सुरु गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो । सन् २०२० मा जापानमा ओलम्पिक खेलकुद हुँदै छ । त्यस समयमा निकै धेरै विदेशीहरूको आगमन हुने र सुरक्षाकर्मीहरूको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरूले जानकारी दिएका छन् ।
विमानस्थल प्रशासनले दिएको जानकारीअनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुईवटा र टर्मिनल २ मा दुईवटा रोबोटको जडान गरिनेछ ।
जापानले कामदारहरूको संख्या कटौती गर्ने नीति लिइरहेको छ, जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरिसकिएको छ । यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रर्द्धन गर्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।