हँगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु हुनुका साथै २१ जना बेपत्ता भएका हँगेरी र दक्षिण कोरियाली अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
हँगेरीको राजधानी बुडापेस्टको ड्यानुव नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता भएका त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । सो डुङ्गामा सवार रहेका ३३ जना दक्षिण कोरियाली नागरिक भएका सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको छ ।
अझै २१ जना बेपत्ता रहेका हँगेरीका प्रहरी प्रवक्ता क्रिस्टोफ गालले एएफपी समाचार समितिलाई बताए । हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले थप जानकारी दिएको छ ।
स्थानीय समयअनुसार बुधबार राती करिब ९ बजे भीषण रूपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो । दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० व्यक्ति सवार रहेका प्रत्यक्षदर्शीहरूले जनाकारी दिएका छन् ।
हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुव नदीमा बिहीबार उद्धार अभियान चलाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिण कोरियाले आफ्नो सरकारी टोली हँगेरी पठाउने योजना बनाएको जनाइएको छ । डुङ्गा, गोताखोर, प्रकाश तथा राडार उपकरणको प्रयोग गरेर दुर्घटनास्थलबाट निकै तलसम्म नदीमा हराइरहेका पर्यटकहरूको खोजी भइरहेको छ ।
हराएका उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको उद्धारकर्ताहरूले बताएका छन् ।