प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।
उनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिगण, सांसद, तीन वटै सुरक्षा निकायका प्रमुखले बिदाइ गरे । प्रधानमन्त्री शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।
भारतीय सञ्चारमाध्यमले यस पटक सार्क मुलुकका सबै सरकार प्रमुखलाई आमन्त्रण नगरिएको जनाएका छन् । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६