काठमाडौं : भोजपुरका कवि तथा गजलकार सुन्दर गुरुङको नवीनतम् गजलकृति ‘समय आएपछि’ सार्वजनिक भएको छ । बागबजारस्थित सिटी म्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलगायतले उक्त कृतिको विमोचन गरेका हुन् ।
सदस्य सचिव प्रा. उपाध्यायले नेपाली साहित्य क्षेत्रमा डायास्पोराबाट महत्त्वपूर्ण योगदान भइरहेको बताए । उनले यसै क्रममा आएका सुन्दरका गजलमा देशप्रेम, समाजप्रेम, समसामयिक घटना र जीवनका यावत् पक्षहरू समाविष्ट भएको बताए ।
प्राज्ञ डा. देवी नेपालले गजलकार गुरुङको पहिलो गजल पुस्तक भए पनि स्तरीय रहेको बताए । उनले सुन्दरमा पर्याप्त गजलचेत भएको उल्लेख गरे ।
संस्कृतिविज्ञ डा. भक्त राईले गुरुङका गजल समाज, संस्कृति र जीवनका पक्षमा पाएको उल्लेख गरे ।
कार्यक्रममा गजलकार शीतल कादम्बिनी, परिषद्का सचिव टीका चाम्लिङ र सदस्य गीता अधिकारीले कृतिबारे आआफ्ना विचार व्यक्त गरेका थिए । गजलकार गुरङले विमोचित कृतिबाट तीनवटा गजल वाचन गरेका थिए ।
भोजपुर, टेम्केमैयुका गुरुङ बहराइनमा कार्यरत छन् । यसअघि उनको ‘आफूले खोजेको स्वर्ग’ कविताकृति प्रकाशित छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६