भोजपुर : भोजपुर कारागार कार्यालयबाट नौ जना कैदी रिहा भएका छन् ।
विभिन्न अपराधमा कारागारमा रहेर ५० प्रतिशत सजाय भुक्तान गरिसकेका नौ जना कैदीको बाँकी कैद मिनाहा भएपछि उनीहरू रिहा भएका हुन् ।
गणतन्त्र दिवसको अवसरमा असल चालचलन भएका र कैद कट्टा नहुने कसुरदार बाहेकका नौ जना कैदीलाई बुधबार कैदबाट रिहा गरिएको जिल्ला कारागार कार्यालयका प्रमुख खगेन्द्र अधिकारीले बताए ।
कैद मिनाहापछि रिहा हुनेहरूमा अरुण गाउँपालिका चरम्बीका लीलानाथ दाहाल, वीरबल तामाङ, टेम्केमैयुङ गाउँपालिका छिनामखुका यादवचन्द्र राई, साल्पासिलिछो गाउँपालिका दोभानेकी इन्द्रा राई र षडानन्द नगरपालिकाका मैया तामाङ छन् ।
यसैगरी टेम्केमैयुङ गाउँपालिकाका खगेन्द्र विष्ट, भीम विष्ट र विकास तामाङ र भोजपुर नगरपालिका २ का दोर्जे शेर्पाको ५० प्रतिशत कैद मिनाहा गरी रिहा गरिएको कारागार कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६