काठमाडौं : विश्व वातावरण दिवसको अवसर पारेर गोदावरी खोलामा मानव साङ्लो प्रदर्शन गरिने भएको छ ।
बागमतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको छलफलमा गोदावरी कुण्डबाट १३ पुल भएको स्थानसम्म मानव साङ्लो प्रदर्शन गरी वातावरण स्वच्छता एवं नदी सफाइको जागरण फैलाइने जानकारी दिइयो ।
दिवसको अवसर पारेर जेठ २२ गते बुधबार मानव साङ्लो प्रदर्शन गर्न लागिएको हो । छलफल कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा सफाइको व्यवस्थापन गर्न प्राधिकरण नै स्थापना गर्नुपर्ने देखिएको बताए ।
उपत्यकाका महानगरपालिका र नगरपालिकाबीच ढल बिछ्याउँदा समन्वय नहुँदा सफाइ चुनौती बन्न पुगेको उनले बताए । गुह्येश्वरीमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । कोड्कु, सल्लाघारी र सुन्दरीघाटका ढल प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको छ ।
मेलम्ची खानेपानी आयोजनाले ३५ लाख मानिसलाई मात्र सेवा दिने बताउँदै सचिव शर्माले ग्रामीण भेगमा आठ÷दस घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता रहेको बताए । कतिपय स्थानमा सुक्खा क्षेत्रका कारण समस्या हुने गरेको मन्त्रालयले जनाएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशीष घिमिरेले बागमतीलगायत राजधानी शहरका नदी व्यवस्थापनका लागि आवश्यक बजेट माग्न तीन महिनादेखि अर्थ मन्त्रालय धाउँदा पनि पाउन नसकिएको गुनासो गरे ।
‘नदी सफाइमा दुई वर्ष केही नगरे पनि फरक पर्दैन भन्ने अर्थमन्त्रीको विचार आयो, घरकै लागि बजेट माग्न गएजस्तो व्यवहार भयो’, उनले भने ।
कार्यक्रममा सफाइ अभियानकर्मी डा. राजु अधिकारी, माला खरेल, प्रमिला पौडेल, चित्र सुनुवार, शोभाकान्त पाण्डे, रोहित गिरी, चक्रबहादुर चन्द लगायतले सरसफाइ समेत कार्यक्षेत्र भएको खानेपानी मन्त्रालयले नदी सफाइका क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६