काठमाडौं : नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सुरु गरेको छ ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले बुधबार आयोजित एक कार्यक्रमबीच विशेष प्रशिक्षणको उद्घाटन गरे ।
प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका ८४ खेलाडी सहभागी छन् । सागमा समावेश २७ खेलमध्ये पहिलो चरणमा सात खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो ।
अन्य सम्बन्धित संघबाट नामावली उपलब्ध नभएका कारण तत्काललाई सात खेलको मात्र विशेष प्रशिक्षण सुरु गर्न लागिएको राष्ट्रिय टोली तयारीका निर्देशक अर्जुन विकले जानकारी दिए ।
यस्तै यही जेठ २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव विष्टले जानकारी दिए ।
प्रदेश नं ५ मा गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो । प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडी पोखरामा तथा अन्य खेलाडी काठमाडौंँमा प्रशिक्षणमा सहभागी हुने छन् ।
साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदै छ । कार्यक्रममा सदस्य–सचिव विष्टले यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे । उनले १३औँ सागमा ऐतिहासिक नतिजा ल्याउन प्रशिक्षण सुरु गरिएको बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६