काठमाडौं : अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो ।
कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले उक्त घटना मिलाइदिनुपर्यो भन्दै प्रहरी निरीक्षकलाई १० हजार रुपैयाँ घुस दिन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कार्कीले प्रहरीलाई ४० हजार दिन्छु, घटना मिलाइदिनुपर्यो भन्दै तत्काल १० हजार दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
अख्तियारको टोलीले उनको साथबाट एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६