मेरा सबै साथी पैसा कमाउन विदेश गएका छन् । तर म यतै कमाउँदै छु ।
कति कमाउनुहुन्छ त दिनमा ?
लजाउँदै– कमाइ हुन्न, अलि अलि मात्र हुन्छ ।
नाम के हो र ?
प्रवास ।
कस्तो राम्रो नाम, कसले राखिदियो ?
सानैमा आमाबुबाले ।
कतिसम्म पढ्नुभएको छ नि ?
मुन्टो निहुराउँदै– छैन ८ वर्षको उमेरदेखि यही काम गर्दै आएको छु ।
अहिले कति वर्षको हुनुभयो नि ?
१८ वर्ष ।
अनि तपाईको घर ?
सर्लाही मलंगवा ।
काठमाडौंको चाबहिल चोकमा विगत ११ वर्षदेखि जुत्ता सिलाउँदै आएका प्रवासकुमार रामसँगको छोटो संवाद हो यो ।
उनी आफ्नै सुरमा जुत्ता सिलाइरहेका थिए । उनको अगाडि एउटा मुढा थियो । उनलाई सोधेँ– यो मुढामा बस्दा हुन्छ ? सायद उनले ग्राहक आएको लागेर हो कि, हुन्छ भने ।
अनि म पनि त्यही मुढामा बसेर संवाद सुरु गरेँ । उनका अन्य साथीहरूभन्दा उनी अलि भर्खरका देखिन्थे । गलबन्दीले मुख छोपेका थिए । किन मुख छोपेको भन्दा उनले भने– धुलो धेरै छ नि त...
उनले उमेर १८ वर्ष भनेर बताउँदा र पढेको छैन भन्दा मैले उनलाई किन नपढेको भनेर सोधेँ । तर उनले गरिबीका कारण पढ्न चाहेर पनि पढ्न नसकेको बताए । ८ वर्षको सानै उमेरदेखि नै जुत्ता सिलाउने काम गरेको उनले सुनाए । आफ्नो उमेरभन्दा दस गुणा बढी जुत्ता सिलाएको उनी बताउँछन् ।
आफ्ना दाइभाउजूसँग सिनामंगलमा डेरा लिएर बसेका रहेछन् प्रवास । दाइभाउजूसँगै प्रवास पनि पहिलादेखि नै काम गर्दै आएका रहेछन् । बिहानको खाना खाएर कहिले ९ बजे कहिले १० बजे काममा आइपुग्दा रहेछन् । अनि साँझ ८÷९ बजे फेरि डेरा फर्किंदा रहेछन् ।
उनी भन्छन्, ‘कामबाट फर्केर खाना पकाएर खाँदा १० बज्छ, कहिले साढे १० नै हुन्छ । अनि एकछिन फेसबुक चलायो, युट्युबमा गीतहरू हेर्दा, रातको ११ बजिहाल्छ अनि सुत्छु ।’
अनि केके छन रुचिहरू ? ‘छैन अलिअलि गीत गाउँछु, गीतहरू सुन्न मन लाग्छ ।’ अनि अब पछिसम्मै जुत्ता सिलाएर बस्ने ?, उनी भन्छन्, ‘हाम्रो पेसा नै यही हो नि । मलाई विदेश जान मन पर्दैन । कहिलेकाहिँ गाउँ जाँदा गाडी चलाएर पैसा कमाउँछु ।
गाडी गुडाउन सजिलो कि जुत्ता सिलाउन ? सोध्दा भने, ‘मलाई गाडी चलाउन पनि आउँछ अनि जुत्ता सिलाउन पनि । त्यही भएर दुवै काम सजिलो लाग्छ ।’
घरमा तीन जना रहेछन् । बुबाआमा अनि एउटी बहिनी । जम्मा परिवार चाहिँ सात जनाको । दाइभाउजू अनि उनी काठमाडौंमा नै डेरामा बस्दा रहेछन् । उनी भन्छन्, ‘जेठी बहिनीको बिहे भइसक्यो, ज्वाँइको घरमा छे । १३ वर्षकी कान्छी बहिनी ९ कक्षामा पढ्दै छे ।’
बहिनीलाई धेरै पढाउने रहर रहेछ प्रवासको । उनी भन्छन्, ‘पढेर जे गरे पनि आफ्नो विचारले बनोस् ।’ सकेसम्म उनलाई राम्रो मान्छे बनाउने इच्छा रहेछ प्रवासको ।
उनका साथीहरू कोही मलेसिया कोही कतारमा छन् रे । तर उनलाई चाहिँ विदेश जान मन लागेन रे । उनी भन्छन्, ‘साथीहरू धेरै धनी भएका छन् । तर मैले त अहिलेसम्म बचत पनि गर्न सकेको छैन । बचतको नाममा कहिलेकाहीँ फाइनान्समा दिनको ५० रूपैँया कुनै दिन पाँच सय र हजार रूपैँया राख्छु त्यही हो ।’ बाँकी सबै आमाबुबालाई दिने अनि आफूले खाँदा नै ठिक्क हुने भन्दै उनी भन्छन्, ‘गाडी चलाउँदा महिनामा ९ हजारसम्म कमाइ हुन्छ तर जुत्ता सिलाउँदा महिनामा १५ हजारसम्म कमाइ हुन्छ ।’
यस्तै सर्लाही बरतपुरका ५१ वर्षीय महेन्द्र राम पनि फनपार्कअगाडि बसेर प्रवास जस्तै जुत्ता सिलाउने काम गर्छन् । उनले यहाँ काम गरेको १३ वर्ष भइसकेछ । उनी भन्छन्, ‘३ छोरा २ छोरी अनि श्रीमती घरमा छन् । म यहाँ काम गर्दै छु । कमाइ भएको समयमा २० हजारसम्म हुन्छ, कहिलेकाहीँ एक रूपैँया पनि हुँदैन । के गर्नु जसोतसो चलाउनुपर्छ ।’
टन्टलापुर घाममा जुत्ता सिलाइरहेका महेन्द्रसँगै अन्य साथीहरू पनि काम गरिरहेका थिए । उनीहरू कोही २५ वर्षका कोही ३० वर्ष उमेरका थिए । सबैको एउटै समस्या रहेछ– कमाइ नहुने । डेराभाडा तिर्दा र आफूले बिहानबेलुका खानलाई पनि धौधौ पर्ने उनीहरू बताउँछन् ।
उनका साथीहरू भन्छन्, ‘धेरै कमाएर बचत गर्ने त सपना मात्र हो । बिहानबेलुका हातमुख जोड्नमै ठिक्क हुन्छ । तर हामीलाई यतिमै आनन्द छ ।’
उनीहरू भन्छन्, ‘सरकारमा भा’का त ठूला मान्छे हुन्, हामीलाई देख्दैनन्, चिन्दा पनि चिन्दैनन् तर हामीले पनि भोट त दिएका थियौँ नि ।’ महेन्द्र राम भन्छन्, ‘मेरा छोराहरूलाई ठुल्ठुला जागिरे बनाउने मन छ, तर के गर्नु पैसा चाहिन्छ रे, मसँग त केही छैन । बिहानबेलुका हातमुख जोड्ने खाना त बल्ल जुटाउँछु । अरुलाई दिने पैसा कहाँबाट जुटाउनु... बरु होस्, उनीहरूले जे गर्न सक्छन् त्यही नै गरून् ।’
यसरी उमेरले ५० काटेका महेन्द्र राम टन्टलापुर घाम अनि दर्के झरी केही नभनी सडकको छेउमा बसेर आफ्नो परिवारको गुजारा गर्नकै लागि दुःख गरिरहेका छन् भने १८ वर्षका युवाहरू आफूसँग भएका अनेकौँ रहरहरूलाई थाती राखेर, आफ्ना रुचि अनि खुसीहरूलाई फाटेका जुत्तासगैँ सिलाउन बाध्य छन् ।
गरिबीका कारण झोलामा किताबकापी अनि कलमको सट्टामा झोलामा सियो, धागो अनि पुराना जुत्ता बोकेर चोकचोकमा बस्नुको विकल्प छैन । के उनीहरूलाई स्थानीय निकाय, सरोकारवाला पक्ष तथा सरकारले बेवास्ता गरेकै हो त ? के उनीहरूलाई योबाहेक अन्य विकल्प छैन त ? उनीहरू पनि देशका नागरिक हुन् । जसको लागि स्थानीय तह, प्रदेश सरकार लगायत सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६