काठमाडौं : सरकारले ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ आज पहिलोपटक ‘राष्ट्रिय महिला अधिकार दिवस’ मनाउँदै छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक वर्ष जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने सरकारले निर्णय गरेको र यही वर्षदेखि मनाउन थालिएको जनाएको छ ।
आमा वा बाबुमध्ये कसैका नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने कुराको सुनिश्चित गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चित गर्न, विभेदकारी कानुनको खारेजी गर्न र महिलाप्रति हुने गरेको हिंसाको अन्त्य गर्ने चार उपलब्धिको खुसीका रूपमा सरकारले प्रत्येक वर्ष सो दिवस मनाउने तयारी गरेको हो ।
महिलामन्त्री थममाया थापाले महिला अधिकारका ती चार विषयका प्रस्ताव २०६३ साल जेठ १६ गते पारित गरेको र ती उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत व्यवस्था गरी दिवसका रूपमा मनाउने तयारी गरेको बताइन् ।
उनले अझै पनि समाजमा बोक्सीको आरोपमा निर्दोषलाई कुटपिट, घरेलु हिंसा, बलात्कार, दाइजोजस्ता दुव्र्यवहार न्यूनीकरणका लागि लैंगिक हिंसाविरुद्धको अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६