गोरखा : नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीहरूको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ ।
गोरखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरे ।
मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गरे । ‘रमजान तथा बकरइद जस्ता मुस्लिम धर्मालम्बीको पर्वमा दिने बिदाले नेपालका सबै समुदायले मुस्लिम धर्मावलम्बीहरूको संस्कृतिलाई बुझ्ने अवसर प्राप्त भएको थियो’, उनले भने, अहिले बिदा कटौती हुँदा पहिचान खोसिएको अनुभूति भएको छ । अध्यक्ष सतारले यही महिनाभित्र पर्ने इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराइसकेको बताए ।
इदलाई एउटा धर्मसँग मात्र नगाँसेर नेपालको संस्कृति हो भन्ने बुझ्नु जरुरी छ , अध्यक्ष सतारले भने, यसको जगेर्ना गर्न सकिएन भने हामीले पहिचानको जगेर्ना गर्न सकिँदैन ।
धार्मिक हिसाबले मुस्लिम समुदाय नेपाल तेस्रो ठूलो धार्मिक समुदाय हो , अध्यक्ष सतारले भने, मुस्लिम समुदाय मात्र होइन धर्म समुदाय र धर्मालम्बीहरूले संस्कृति र पहिचानलाई जगेर्ना गर्ने खालका धार्मिक बिदाहरू कटौती गरिनु हुँदैन ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६