काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सांसदमा प्रस्तुत गरेको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन भएकाे छ।
आगामी आर्थिक वर्षका लागि विनियोजित यो बजेट चालु आर्थिक वर्षभन्दा झन्डै १२ अर्ब बढी हो। चालु वर्षमा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो।
बुधबार सार्वजनिक बजेटमा देशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, टोल टोलमा नागरिक आरोग्य कार्यक्रम चलाउने, वडा स्तरमा पूर्ण खोप सुनिश्चित कार्यक्रम गर्ने लगायतका छन्।
जनस्वास्थ्य प्रयोगशालालाई विस्तार गर्दै राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने कार्यक्रम पनि बजेटमा आएको छ । यसका साथै तीन वर्षभित्रमा हरेक प्रदेशमा प्रयोगशाला स्थापना गर्ने कुरा पनि बजेटमा आएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६