काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षका लागि खर्च र आयको अनुमानित विवरण संसदमा प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ का लागि खतिवडाले आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले आगामी कुल विनियोजन रकममध्ये चालूतर्फ नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ अर्थात् ६२.४ प्रतिशत छुट्याइएको बताए। यसैगरी पुँजीगत खर्चतर्फ चार खर्ब आठ अर्ब ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ छुट्याइएको छ।
यस्ता छन् बजेटका विशेषता :
वृद्धभत्ता एक हजार बढ्यो
सरकारले वृद्धभत्ता एक हजार बढाएको छ । यसअघि वृद्धभत्ता दुई हजार दिँदै आएकामा अब वृद्धवृद्धाले मासिक तीन हजार रुपैयाँ पाउनेछन् । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनका बेलामा वृद्धभत्ता बढाउने भन्दै मत मागेका थिए ।
तलब वृद्धि
राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको छ । अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायव सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्नेछ भने शाखा अधिकृतभन्दा माथि मुख्यसचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्नेछ ।
अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताए । यसअनुसार अब नयाँ तलबमानअनुसार आधार तलब तीन हजार ४४५ रुपैयाँदेखि नौ हजार ८१० रुपैयाँसम्म बढेको छ। अब बढेको तलब र महँगी भत्तासमेत गरेर नायव सुब्बाले २८ हजार ५६४ रुपैयाँ मासिक पाउनेछन् भने मुख्य सचिवले ६६ हजार ३१० रुपैयाँ पाउने भएका छन् ।
प्रत्येक सांसदलाई ६ करोड
सरकारले भूकम्पबाट भत्किएका निजी घर निर्माण गर्न ५८ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षभित्र भत्किएका सबै निजी घर पुनर्निर्माण गरिसक्ने पनि सरकारले घोषणा गरेको छ ।
त्यस्तै, आवास र शहरी विकासका लागि ४० अर्ब ७३ करोड रुपैयाँ रकम छुट्याएको छ ।
चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रलाई कालोपत्रे सडकबाट प्रदेश राजधानी जोड्न पाँच अर्ब सात करोड छुट्याइएको छ । प्रत्येक सांसदलाई निर्वाचन क्षेत्र विकास अन्तर्गतको बजेट छ करोड रुपैयाँ पुर्याएको छ । सांसदहरूले यसअघि चार करोड रुपैयाँ पाउँदै आएका थिए ।
त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि नौ अर्ब रुपैयाँ छुट्याएको सरकारले भूकम्पपछिको सबै पुनर्निर्माणका लागि एक खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
मेलम्ची खानेपानीका लागि ७ अर्ब ३९ करोड
सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । यसको बाँकी काम टुक्र्याएर ठेक्का लगाइनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् सरकारले सो बजेट बजेट छुट्याएको हो ।
सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क वितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् सरकारले सो कार्याका लागि यथेष्ट बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क
यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सरकारले सो कार्यका लागि एक अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् । उक्त रकमले ८३ हजार युवालाई सीप सिकाउन सकिने सरकारको लक्ष्य छ ।
धरहरा पुनर्निर्माणका लागि १ अर्ब
सरकारले धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले गत वर्ष सुरु भएको धरहरा पुनर्निर्माण तीन वर्षमा पूरा गर्ने लक्ष्य लिएको जनाए ।
रेल मार्गका लागि ७ अर्ब ७० करोड
रेलमार्गहरूको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने आठ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि साढे चारर अर्ब रुपैयाँ पाएको रेलमार्गले आगामी वर्ष सात अर्ब ७० करोड रुपैयाँ पाएको हो ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको बताए । यो बजेट मुख्य रूपमा रेलमार्गको जग्गा अधिग्रहणलगायतका काममा खर्च हुनेछ । पूर्व-पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट आएको छ ।
खेलकुदमा ४ अर्ब
सरकारले आर्थिक वर्ष २०७६/०७६ का लागि युवा तथा खेलकुदलाई तीन अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा एक अर्ब ९५ करोड रुपयाँ बढी हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई ६ अर्ब
सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि स्वास्थ्य बीमा कार्यक्रमलाई छ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चालू आव २०७५/०७६ मा पनि यो कार्यक्रमका लागि छ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नेपालीलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ल्याइने योजना सुनाए ।
गौतमबुद्ध विमानस्थललाई ३ अर्ब
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताएको छ ।
बुधबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हाल करिब ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो विमानस्थलका लागि मात्रै सरकारले तीन अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
वीपी राजमार्ग सुधारका लागि ९६ करोड
सरकारले वीपी राजमार्ग सुधारका लागि आगामी आर्थिक वर्षमा ९६ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले यातायातको विकासमा विशेष प्राथमिकता दिएको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६