एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा उपाधिको दाबेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । ३ सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेशले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रन मात्र जोड्न सक्यो ।
ओपनर सौम्य सरकारलाई दशौं ओभरको चौथो बलमा जसप्रित बुमराहले दिनेश कार्तिकबाट २५ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा बुमराहले सकिब अल हसनलाई बोल्ड आउट गरेपछि बंगलादेश दवावमा परेको थियो ।
तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र लिटन दासले १ सय २० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मोहम्मद मिथुन डक,सब्बिर रहमान ७,मोसाद्देक हसन डक,मोहम्मद सैफुद्दीन १८ र मेहेदी हसन मिराजले २७ रन जोडे ।
भारतका लागि कुलदिव यादव र युजवेन्द्र चाहलले समान ३ विकेट लिए । त्यस्तै जसप्रित बुमराहले २ र रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो ।
त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर महेन्द्रसिंह धोनीले १ सय १३ रनको उत्कृष्ट शतकीय योेगदान दिए ।
४४ औं ओभरको दोस्रो बलमा सब्बिर रहमानले बोल्ड आउट गर्नु अघि राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गरे ।
ओपनर शिखर धवनलाई भारतले १ रनमै गुमाएको थियो । धवनलाई मुस्ताफिजुर रहमानले एलवी डब्लू आउट गरे । १४ ओभरको तेस्रो बलमा रुवेल हसनले रोहित शर्मालाई १९ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । १९ ओभरको चौथो बलमा मोहम्मद सैफुद्दीनले कप्तान विराट कोहलीलाई ४७ रनमा बोल्ड आउट गरेपछि भारत दवावमा परेको थियो । कोहलीले ४६ बलमा ५ चौका प्रहर गरे । विजय शंकर २,हार्दिक पान्ड्या २१ रनमा आउट हुँदा दिनेश कार्तिक ७ र रविन्द्र जडेजा ११ रनमा अविजित रहे ।
बंगलादेशका लागि रुवेल हसन र सकिव अल हसनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन र सब्बिर रहमानको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६