काठमाडौं: खानेपानीमन्त्री बिना मगरले गाउँघरमा बनेका छाउगोठहरु अजिङ्गरको मुख जस्तै लाग्ने बताइन् । आफू सानो छँदा छाउगोठहरु सामान्य लागेपनि अहिले बुझ्दै जाँदा छाउगोठ अजिङ्गरको मुख जस्तै लाग्ने बताइन् । छाउगोठमा हुने मृत्यु तथा बलात्कारका घटनाले छाउगोठलाई भयानक, डरलाग्दो र अजिङ्गर जस्तो बनाएको उनले बताउँदै यसलाई भत्काउन सामाजिक चेतना र जागरण आवश्यक रहेको बताइन् ।
विश्व महिनावारी दिवसको अवसरमा काठमाडौमा आयोजना गरिएको महिनावारी स्वच्छता दिवस समारोहमा उनले आफ्नै निर्वाचन क्षेत्र कञ्चनपुरमा समेत छाउगोठ अस्तित्वमा रहेको बताइन् । ‘मेरो निर्वाचन क्षेत्रमा पनि छाउगोठ छ भन्ने प्रष्ट प्रमाण पाएको छु, यसलाई जबरजस्ती भत्काउँदा निम्तिने परिणाम राम्रो नहुन सक्छ, त्यसैले हामीले महिनावारी प्रतिको धारणालाई परिवर्तन गरी उनीहरु आफैले भत्काउने वातावरण सिर्जना गर्नुपर्छ ।’
खानेपानी मन्त्री मगरले समतामुलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र ंिहसाको अन्त्य हुनुपर्ने बताइन् । उनले महिनावारी भएकी महिला र जातिय आधारमा गरिदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानित जीवन जीउने वातावरण श्रृजना हुन नसक्ने बताइन् ।
महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो भन्ने जनचेतना लक्षित समुदायसम्म पुगे पुगेनन् भन्ने विषय नै सबै भन्दा महत्वपुर्ण भएको भन्दै उनले कार्यक्रम प्रभावकारिताको अनुगमनमा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६