काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा भोलि बुधबार आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट (आय-व्यय) विवरण पेस गर्ने भएका छन् । हरेक आर्थिक वर्षको जेठ १५ गतेभित्र ल्याइसक्नुपर्ने प्रावधानअन्तर्गत रहेर बजेट प्रस्तुत गरिने भएको हो ।
सरकारले ल्याउने बजेट राष्ट्रिय योजना आयोगको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्रमा आधारित हुने जनाइएको छ । आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १५ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको हो । यही सिलिङभित्र बजेट आउने प्रावधान छ ।
अर्थमन्त्रीले कस्तो बजेट बनाएका होलान् ? जनताको आकांक्षा समेट्ने के कस्ता कार्यक्रमहरू होलान् ? यतिबेला खासगरी रोजगारी सिर्जना र मुलुकको उत्पादकत्व बढाउन के कस्ता योजनाहरू आउँदै छन् ? भन्ने आमचासोको विषय छ ।
बजेट तयारीकै लागि प्रधानमन्त्री र सबै प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल भइसकेको छ । छलफलमा मुख्यमन्त्रीहरूले ३५ प्रतिशत बजेट प्रदेश सरकारका लागि छुट्याउन माग गरेका थिए । वित्तीय संघीयतामा पहिलो वर्ष देखिएको समस्या आगामी बजेटले व्यवस्थित गर्ने रणनीति अर्थ मन्त्रालयको छ ।
सरकारले के कस्ता खालका नयाँ कार्यक्रमहरूमा के कति बजेट छुट्याउला भन्ने जिज्ञासा तथा उत्सुकता आम जनमानसमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६