काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान नीतिको मस्यौदा तयार गरिएको बताएका छन् । वीपी कोइराला मेमोरियल प्लानेटेरियल तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजना भएको तीन दिवसीय खगोल तथा अन्तरिक्ष विज्ञान सम्मेलनको आज उद्घाटन गर्दै उनले नीतिका बारे मन्त्रिपरिषद्मा एक पटक छलफल गरिसकेकाले अर्को मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी गराए ।
उनले विज्ञान विषयलाई जीवन पद्धतिसंँग जोड्नुपर्नेछ भन्दै विज्ञानलाई विद्यालय तहदेखि नै अनिवार्य रूपमा अध्ययन गराउनुपर्ने धारणा राखे । नयाँ पुस्तालाई विज्ञान र प्रविधि विषयप्रति आकर्षित गराउन प्रविधि र विज्ञान प्रयोगशाला अलग-अलग सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई अगाडि बढाउनका लागि विज्ञान सङ्ग्रहालयको स्थापना गरिएको छ भन्दै विज्ञान कलेजको आवश्यकता रहेको बताए ।
अन्तर्राष्ट्रियस्तरमा खगोल र अन्तरिक्ष विज्ञानमा भएका अनुसन्धानबारे शिक्षक र विद्यार्थीलाई जानकारी दिनका लागि सम्मेलन गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी गराए । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले विद्यार्थी र शिक्षकलाई खगोल र अन्तरिक्ष विज्ञानको अनुसन्धान गर्न सहयोग मिल्ने उनले बताए । डा. शर्माले खगोल र अन्तरिक्ष विज्ञानका जनशक्ति कम भएकाले सम्मेलनले ती विषयमा अध्ययन अनुसन्धान गर्न विद्यार्थीलाई प्रेरित गर्नेसमेत उल्लेख गरे ।
सम्मेलनमा सात प्रदेशका ४० वटा क्याम्पसका स्नाकोत्तर तहदेखि दश जोड दुईसम्म विज्ञान विषयमा अध्ययरत रहेका करिब १२० विद्यार्थी सहभागी छन् । विद्यार्थीलाई वीपी सङ्ग्रहालय र अन्य ठाउँमा भएका विज्ञानका विभिन्न अविष्कारबारे समेत अवलोकन गराइनेछ ।
त्रिभुवन विश्वविद्यालयका प्रा.डा. एनपी चापागाईं, प्रा.डा. राजु खनाल, डा. एचपी लामिछानेलगायतले खगोल र अन्तरिक्ष विज्ञानका बारेमा जानकारी दिनेछन् ।