काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दै उनले खेलकुद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताए । देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकुदले सहयोग पुगेको छ , उनले भने ।
पूर्वप्रधानमन्त्री दाहालले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकुद क्षेत्रलाई महत्त्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गरे । युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकुदले सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष दाहालले खेलकुद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको दाबी पनि गरे ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्त्वपूर्ण योजना अगाडि ल्याएको बताए । सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उनको भनाइ थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । नेपाली खेलको विकासका लागि परिषद् लागिरहेको उनको भनाइ थियो ।
सङ्घीय सांसद दिव्यमणि राजभण्डारीले देशमा देखिएको अन्योलको अन्त्यका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए । देशको विकासका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ , उनले भने ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । काठमाडौं खेलकुद विकास समितिका अध्यक्ष धुव्र न्यौपानेले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने बताए । नेपाल वादोरियो कराते सङ्घका अध्यक्ष हरिशरण केसीले देश र विदेशमा नेपालको कराते क्षेत्रलाई चिनाउन नेपाल वादोरियो कराते सङ्घले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । ४९ जिल्लामा आफ्नो सङ्घ स्थापना गरेर खेलाडी उत्पादन गर्दै आएको उनको भनाइ छ ।
२०६२ सालमा स्थापना भएको सङ्घले मुलुकको कराते क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको सङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३०० खेलाडीको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई सम्मान गरेका थिए ।