चितवन : चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डको कालोपत्रेको काम सकिन नपाउँदै कालोपत्रे उप्किन थालेको स्थानीयले गुनासो गरेका छन् । सो सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएको हो । सडक डिभिजन कार्यालय भरतपुरको सहयोगमा सन्तोषी निर्माण सेवाले कालोपत्रेको काम जिम्मा लिएको थियो ।
उक्त सडकखण्ड अन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पर्दछ । ६२ किलोमिटर लामो चेपाङ मार्गको यस अघि ४६ किलोमिटर सडक कालोपत्रेको भइसको थियो । चालु आर्थिक वर्षभित्र काम सक्ने गरि १६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरसँगको सम्झौताअनुसार कालोपत्रेको काम असार मसान्त सकिनुपर्ने भनिए पनि कालोपत्रे काम सकिएको सन्तोषी निर्माण सेवाले जनाएको छ । उक्त सडकमा कालोपत्रेको काम सकेर हस्तान्तरण गर्न नपाउदै कालोपत्रे नै उप्किएर ठाउँ ठाउमा सडक भत्किन समेत थालेको स्थानीय प्रज्वल दवाडीले गुनासो गरे ।
विकास निर्माणको नाममा नागरिकको आँखामा छारो हालेको भन्दै सरोकारवाला निकायले तत्काल अनुगमन गरि कारवाहि नगरे सडक संचालनमा रोक लगाउने समेत स्थानियले चेतावनी दिएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने यो सडकखण्डमा अधिकांश सिमान्तकृत जाति चेपाङहरु बस्ती भएकाले सडकको नाम चेपाङ मार्ग राखिएको हो । सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौं जाने सडकको दुरी छोटिनेछ । भण्डाराबाट भरतपुर ,मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर रहेको छ । चेपाङ मार्ग भारत र चीनलाई जाड्ने सबैभन्दा छोटो दूरीको सडक हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६