काठमाडौं : दुई जना नेपाली युवाहरू मिलेर अस्ट्रेलियामा मःमः व्यापार गर्दै आइरहेका छन् । नेपालका सन्तोष अधिकारी र प्रमोद रिमालले नेपाली मःमःको स्वादलाई विश्वभर विस्तार गर्ने उद्देश्यले मःमः व्यापार गर्न थालेका हुन् ।
सर्वोच्च शिखर सगरमाथाको नामबाट एभरेस्ट मःमः अस्ट्रेलिया नाम दिएर विगत दुई वर्षदेखि अस्ट्रेलियाका विभिन्न ठाउँहरूमा शाखा विस्तार गर्दै उनीहरूले मःमः व्यापार गर्दै आएका हुन् ।
नेपाली मःमः बनाउने शैली अपनाएर समग्र अस्ट्रेलियामा बसेका नेपाली र अस्ट्रेलियनहरूलाई मध्यनजर गर्दै व्यापार थालेको उनीहरूले जानकारी दिएका छन् ।
उनीहरूले स्टिम, झोल, फ्राइड, कोथे, साँधेको, झानेको, चटपट र चाट लगायत भेराइटीका मःमः बनाएर बेच्दै आएका छन् ।
एभरेस्ट मःमः अस्ट्रेलियाका म्यानेजर सन्तोष अधिकारीले व्यापारबाट आएकाे केही रकम सगरमाथाको विकासका लागि गरिने विविध कार्यका लागि छुट्याइने बताए । अधिकारीले एभरेस्ट मःमः अस्ट्रेलियामा शुरुमा २०० हजार डलर लगानी गरि सकेको बताए ।
एभरेस्ट मःमः अस्ट्रेलियामा अनलाइन अर्डर साथै रिटेल पनि बिक्री हुँदै आएको छ । एभरेस्ट मःमःका मुख्य ग्राहक नेपाली, भारतीय, चाइनिज साथै अस्ट्रेलिया र अन्य मुलुकका मानिस रहने गरेको अधिकारी बताउँछन् । एभरेस्ट मःमःले जम्मा १ मिनेट माइक्रोवेभमा राख्दा तयार हुने मःमः पनि बजारमा ल्याएको छ ।
पारामाटामा पहिलो स्टोर खोलेको एभरेस्टले आफ्नाे मःम विश्वभर चिनाउने लक्ष्य रहेको सञ्चालक रिमालले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६