दोलखाः दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माध्यमिक विद्यालय परिसरमा शैलुङ जागरण युवा समाजद्वारा निर्मित सरस्वती मन्दिर विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
मुक्तिबहादुर कार्की राजदलबाको स्वर्गीय श्रीमती कुमारी कार्कीको सम्झनामा निर्माण गरिएको मन्दिर विद्यालयलाई हस्तान्तरण कार्यक्रममा रेडियोकर्मी बुढाथोकीसहित मन्दिर निर्माणमा सहयोग गर्ने २० जना समाजसेवीलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
तीन लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिर निर्माणका लागि ज्येष्ठ नागरिक राजदलबाले एक लाख रुपैयाँ सहयोग गरेका थिए । शैलुङ जागरण युवा समाजको आयोजना तथा जिङको मिडिया प्रालिको समन्वयमा भएको कार्यक्रममा कलाकार रामबाबु गजमेरले मेलुङ र शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।
कार्यक्रमको अवसरमा मन्दिर निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेका शैलुंगेश्वरका समाजसेवी कार्की राजदलबाले चण्डिका आधारभ"त विद्यालय पोखरे र शैलु|गेश्वर आधारभूत विद्यालय मनगाउँका लागि ५०÷५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरे ।
विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार, अनुशासित र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको हो ।
शैलुङ जागरण युवा समाज शैलुंगेश्वरका अध्यक्ष बद्री कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वरक्षासचिव देवेन्द्रप्रसाद सिटौला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष रामेश्वर उप्रेती, विद्यालयका सहायक प्रधानाध्यापक वेदराज शिवाकोटी, शिक्षक चुडामणि भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शैलुङ गाउँपालिका वडा नम्बर ८ शैलुंगेश्वरमा गठन भएको शैलुङ जागरण युवा समाजले विभिन्न सामाजिक क्षेत्रमा सहयोग र समन्वय गर्दै काम गर्ने गरेको छ भने जिङको मिडिया प्रालिले मिडियाको तर्फबाट आवश्यक सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६