मोरङ : कला साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरे मोरङले ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सव, २०७६’ आयोजना गर्ने भएको छ ।
सोमबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी समितिले जेठ १८ र १९ गते कार्यक्रम हुने बताएको हो । उत्सवको पहिलो दिन जातीय मौलिक साँस्कृतिक झाँकी, मौलिक गीत र प्रस्तुति, चित्रकला र मूर्तिकला प्रदर्शनी, नगरको कला र साहित्यको अवस्थाबारे कार्यपत्र, स्रष्टा सम्मान कार्यक्रम, प्रहसन प्रस्तुति रहने कार्यक्रम संयोजक अमीर राईले जनाए ।
दोस्रो दिन जिल्लाको साहित्यको अवस्था विषयक कार्यपत्र, सर्जकका सिर्जना प्रस्तुति, मौलिक गीत र नृत्य, चित्रकला र मूर्तिकला प्रदर्शनी र प्रहसन प्रस्तुतिको कार्यक्रम तय गरिएको छ । रत्न चोकबाट साँस्कृतिक झाँकीले पथरी बजार परिक्रमा गरी सिन भिलेज पार्टी प्यालेसमा कार्यक्रम हुने आयोजकले बताएको छ ।
समितिका सचिव रोहित पराईले सिर्जना र कला क्षेत्रको महत्त्व र मर्म बुझाउँदै यसको संरक्षण, संवर्द्धन र विकासमा सबै जुट्ने चेतना एवम् सन्देश प्रवाह गर्न पथरीमा प्रथम पटक कला र साहित्यको उत्सवको आयोजना गरिएको बताए ।
करिब तीन लाख रुपैयाँ अनुमानित खर्चमा हुने उत्सव नगरपालिकाको सहयोगमा आयोजना हुँदै छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६