काठमाडौं : यो वर्ष नेपालमा पर्यटन आगमनमा वृद्धि भएको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यको सम्मुखमा रहेको सरकारले २० प्रतिशत पर्यटक बढेको बताएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा सो कुरा खुलाइएको हो ।
अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा स्थलमार्ग हुँदै आएका भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । मुलुकमा सुदृढ शान्ति सुरक्षा र राजनीतिक स्थायित्यका कारण पर्यटक आगमनमा उल्लेख्य सुधार भएको जनाएको छ । यो सङ्ख्या सन् २०१७ को भन्दा २५ प्रतिशतले बढी हो ।
पछिल्लो समयमा पनि पर्यटकको आगमन राम्रो रहेको सरकारले जनाएको छ । पछिल्ला वर्षमा स्थलमार्गभन्दा हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको र समग्र अवस्था सुधारिदो रहेकाले भ्रमण वर्षको लक्ष्य प्राप्त हुनेमा आशा जगाएको छ ।
आउने पर्यटक ८२ दशमलव आठ र स्थलमार्गबाट आउने पर्यटक १७ दशमलव दुई प्रतिशत रहेका उल्लेख छ । सबैभन्दा बढी भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतबाट पर्यटक नेपाल भित्रिएका छन् । चीन, थाइल्याण्ड र श्रीलङ्बाबाट आउने पर्यटक बढ्दै गएका सर्वेक्षणले देखाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा पर्यटन क्षेत्रबाट रु ६७ अर्ब नौ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । चालू आवको फागुनसम्म भने रु ४६ अर्ब ५९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यस वर्ष स्थलमार्गबाट आएका पर्यटक (भारतबाहेक) सबैभन्दा बढी भैरहवा नाका हुँदै ८३ दशमलव तीन प्रतिशत छ । दोस्रोमा रसुवा नाकाबाट ११ दशमलव नौ प्रतिशत आएका छन् । बिदा, मनोरञ्जन र पर्वतारोहणका लागि आउने पर्यटक दुई तिहाइभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६