झापा : झापाको मेचीनगरमा पहिलो पटक ‘प्रथम मेची नगर खेलकुद महोत्सव’ हुने भएको छ । मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरी आगामी जेठ १५ देखि २३ गतेसम्म उक्त महोत्सव हुने जानकारी गराएको हो ।
नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा मेचीनगर- ४ का वडाध्यक्ष नवीन बरालले महोत्सवमा महिला तथा पुरुषतर्फ म्याराथन, फुटबल, क्रिकेट, भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्टका खेल खेलाइने बताए । महोत्सवमा नगरभित्रका १५ सामुदायिक र ३६ निजी विद्यालयका करिब एक हजार पाँच खेलाडीको सहभागिता रहनेछ ।
महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नगरका १५ वटै वडामा वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय खेलकुद समिति गठन गरिएको छ । महोसत्व आयोजना गर्न १० लाख रुपैयाँ खर्च हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
जेठ १५ गते मेचीनगर- १३ स्थित चारआलीबाट म्याराथन प्रतियोगिता सुरु भई जेठ २३ गते मेचीनगर- १० धुलाबारी माविको खेल मैदानमा सम्पन्न हुनेछ । कबड्डी खेलाडी छनोट सङ्खुवासभाको खाँदबारीमा यही जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रदेश १ स्तरीय महिला कबड्डी प्रतियोगिताका लागि झापाबाट टोली छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाका अनुसार छनोट भएका खेलाडीमा अञ्जली शाह, पूजा राजवंशी, निकिता राजवंशी, सुस्मिता राजवंशी, पूजा राजवंशी ‘ए’, ऋतिका राजवंशी, दिलिसा पौडेल र तिलसा प्रसाईं छन् ।
प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा प्रदेश खेलकुद विकास समितिको संयोजनमा उक्त प्रतियोगिता हुन लागको हो ।