सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकुको ज्यान गएको युद्ध अनुगमनकर्ताहरूले बताएका छन् ।
मध्य सिरियाको हामा प्रान्तमा भएको उक्त कारबाहीपछि सरकारी फौजले काफ्र नबुदाहलाई पनि पुनः नियन्त्रणमा लिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अल-कायदासँग निकट सम्बन्ध रहेको नुस्रा फ्रन्टसँग आबद्ध हायात तहरिर अल-शाम (एचटीएस)बाट उक्त शहर सिरियाली सेनाले कब्जामा लिएको हो ।
सिरियाली सेनाले कफ्र नबुदाहलाई नियन्त्रणमा लिने क्रममा करिब ६७५ पटक हवाई आक्रमण गरेको थियो । अब्जरभेटरीका अनुसार शहरका पूर्वी र उत्तरी भेगमा पनि भिडन्त जारी छ । सिरियाली सेनाले गत मे ८ मा कफ्र नबुदाहलाई आफ्नो नियन्त्रणमा लिए पनि मे २२ मा विद्रोहीले पुनः कब्जा लिएका थिए ।
कफ्र नबुदाह उत्तरी र दक्षिणी सिरियाको मध्य भागमा रहेकाले पनि रणनीतिक महत्त्वको शहर हो ।