काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका क्रममा सोमबार विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।
चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी–साधनमा आगजनीसमेत गरेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एउटा मालवाहक ट्रकमा आगजनी भएको छ । हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा ना७ख ९४९३ नम्बरको ट्रकमा आगजनी गरिएको छ ।
त्यसैगरी, थाहा नगरपालिका–१, खानीगाउँमा पनि एक ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै, चन्द समूहका कार्यकर्ताले सुर्खेतको गोचेखोलामा एक यात्रीवहाक बसमा आगजनी गरेका छन् ।
गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसमा चन्द समूहका कार्यकर्ताले आगजनी गरेका हुन् । हतियारसहित आएका केही व्यक्तिले आइतबार राति बसका स्टाफ र सबै यात्रीलाई ओरालेर आगजनी गरेका हुन् ।
आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षत्रीले जानकारी दिए । बस आगजनी भएको ठाउँनजिकै शंकास्पद वस्तु पनि फेलापरेको थियो ।
यस्तै, बाराको जितपुर–सिमरा उपमहानगरपालिका–३, बजनीमा रोकेर राखिएको भारतीय नम्बरप्लेटको लरीमा आगजनी गरिएको छ ।
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाका लागि पाइप बोकेर आएको एपी३१एक्स ६३१६ नम्बरको लरीमा आगजनी भएको हो ।
आगजनी कसले र किन गर्यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता रन्जितसिंह राठोरले बताए ।
यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत् नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रकचालक घाइते भएका छन् ।
मध्यविन्दू नगरपालिका–११, दाउन्नेमा लु२ख १०८ नम्बरको सिमेन्ट लोड गरिएको ट्रकमा चन्द समूहका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
पेट्रोल बम प्रहारपछि ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको थियो । घटनामा ट्रकचालक तनहुँको ब्यास नगरपालिका–४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । सहचालकको अवस्था भने सामान्य छ ।
यसैगरी, कावासोती नगरपालिका–१६, पत्थरखोला पुलनजिकै गुडिरहेको बा३च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट जिपमा राखिएको त्रिपाल पूर्णरुपमा जलेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मोरङको सुन्दर हरैंचामा रातो कपडाले बेरेर राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
यस्तै, बैतडीको दोगडाकेदारमा फेलापरेका दुईओटा बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ । गाउँपालिकाको वडा नम्बर–३, श्रीकोटस्थित सनातन धर्म माविनजिकै महाकाली राजमार्गमा राखिएका बम निस्क्रिय पारिएको हो ।
यस्तै, धादिङको नौबिसे र महादेवबेसीमा भेटिएका बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत् तनहुँका दुई स्थानमा फेलापरेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
बन्दीपुर गाउँपालिकाको नाहलामा फेलापरेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको हो । त्यस्तै, मुसेखोलामा बालुवा र माटो भरेर राखिएको एउटा राइस कुकरलाई पनि सेनाले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, सोमबार सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमाअगाडि बम विस्फोट भएको छ ।
विस्फोटबाट नगरपालिकाको कार्यालयको मूलगेटअगाडिको पर्खाल र कार्यालयको एउटा झ्यालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
रामेछापको मन्थली नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, बाग्लुङ नगरपालिकाको धौलागिरि क्याम्पसमा पनि बम फेलापरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आदर्श मावि र बसपार्कमा पनि शंकास्पद वस्तु भेटिएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–५ को वडा कार्यालय परिसरमा प्रेसरकुकर बम विस्फोट भएको छ । भवन परिसरमा विस्फोट भएपनि क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै, गल्छी–त्रिशुली सडकखन्डको बेलकोटगढी नगरपालिकाको वडा नम्बर–६ कोल्पु खोलानजिकै फेला रेको पेट्रोल बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
नुवाकोटका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।
बन्दको प्रभाव नुवाकोटमा सामान्य परेपनि जताततै बम भेटिएपछि भने नागरिकहरुमा त्रास फैलिएको छ ।
स्राेत : इमेज खबर
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६