पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ८ म्याग्नीच्यूडको भूकम्पबाट एक जनाकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र (कोन) का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ ।
भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो । जियोफिजिक्स इन्स्टिच्यूट पेरु (आइजीपी) का अनुसार उत्तरी अल्टो अमेजोनास प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान २ बजेर ४१ मिनेटमा गएको थियो ।
निकै शक्तिशाली मानिएको उक्त भूकम्पबाट करिब १३० वटा घर, तीन वटा विद्यालय र छ वटा साना अस्पताल क्षतिग्रस्त भएका छन् । उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु इक्वेडर, कोलम्बिया, ब्राजिल र बोलिभियामा पनि अनुभव गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६