काठमाडौं : नेपाल प्रेस युनियनले आफ्नाे २८ औं स्थापना दिवस सोमबार विविध कार्यक्रम गरी मनाउँदै छ।
राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा दिउँसो ३ बजे एक विशेष कार्यक्रम गरी स्थापना दिवस मनाइने केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।
उनले वार्षिकोत्सव समारोहमा अगज्र पत्रकारहरुको समेत सहभागिता हुने जानकारी दिएका छन् । युनियनले आफ्नो जिल्लामा पनि विविध रचनात्मक कार्यक्रम गर्न आव्हान गरेको छ ।
प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आइएको छ ।
पछिल्लो समयमा युनियनले श्रमजीवी पत्रकारका पेसागत तथा भौतिक सुरक्षा लगायतका हक, हितका लागि क्रियाशील हुँदै आएको छ । देशभर करिब आठ हजार पत्रकार युनियनमा आबद्ध छन् । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेसागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए ।
श्रमजीवी पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्धेश्यलले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नाै सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।
उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरुमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना लगायत रहेका थिए ।
त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । उक्त कार्य समितिमा उपाध्यक्ष राजेश्वर नेपाली, महासचिव भरत भुर्तेल, सचिव हरि लम्साल, कोषाध्यक्ष कुलचन्द्र वाग्ले, सदस्यहरुमा कन्यैयालाल केशरी, हर्ष सुब्बा, झपेन्द्र गैरे, माधव घिमिरे, माधव नेपाल, कृष्ण धारावासी र बिष्णुप्रसाद भुषाल निर्वाचित भएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६