काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मकवानपुरमा दुई वटा ट्रकमा आगजनी गरेका छन्।
बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।
मकवानपुर चौकिटोलमा सोमबार बिहान ना ७ ख ९४९३ नम्बरको खाली ट्रकमा आगो लगाएका हुन् । ट्रकको अगाडिको केही भाग जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए ।
प्रहरीका अनुसार हेटौंडाको बुद्धचोकमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले सोमबार बिहानै निष्कृय पारेको छ। प्रदेश ३ को राजधानी समेत रहेको हेटौँडामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएकाे छ ।
त्यसैगरी विप्लव समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेकाे छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आज बिहान आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६