हुँदा आफ्नो नहुँदा सबै बिरानो त्यसै भनेका नहोलान् गायक शम्भु राईले । उनले पनि त समाजमा बसेर आफूले भोगेका यथार्थ वस्तुस्थितिहरू बाहिर ल्याउन खोजे होलान् आफ्नो गीतमार्फत् । पीडा र दु.ख के हो भन्ने त समाजमा भोगेको मान्छेलाई पो थाहा हुन्छ । समाजको अगाडि पिल्सियर बस्दाको पीडा स्वयं उसैलाई थाहा हुन्छ ।
घरछिमेकमा ठूला सिमेन्टका घरहरू हुँदा आफूलाई पनि स्वभावैतः त्यस्तै घरमा बस्ने रहर सबैको हुन्छ । तर त्यो रहर पैसाले निर्धारण गर्दोरहेछ । रहर भएर मात्र सब कुरा कहाँ पुग्दो रहेछ र ? यसरी नै बहकिन्छिन् दाङ घोराहीकी निमकुमारी नेपाली ।
उनि भन्छिन् ‘छरछिमेकमा सिमेन्टका घरहरू बन्दा आफ्नो घर देखेर मुटु भत्भती पोल्थ्यो, रातभर निन्द्रै लाग्थेन । समय बित्दै जाँदा सबै कुरा महँगिदै गयो । घर बनाउँछु भन्दाभन्दै जीवन बित्न थाल्यो । मेरो मनको लड्डु कहिल्यै पूरा भएन । एकझर पानी ओत्ने घरमा बस्ने मेरो रहर कहिल्यै पूरा हुन सकेन भनेर म आफैँलाई सराप्थेँ ।’
कुराको बीचमै रोक्दै मुसुक्क मुस्कुराउँदै उनि फेरि थप्छिन्– ‘सम्पत्तिमा सबैको हाईहाई विपत्तिमा कोही छैन दाजुभाइ भन्थे, गरिबको को नै छ र लाग्थ्यो । तर हामी जस्ताको लागि सरकार भगवान् बनेर आयो ।’ बर्खायाम आउनै लाग्दा खरले छाएको घरमा चुहिने चिन्ता थियो । तर सरकारले छानो छाउन पुग्ने गरी जस्तापाता पुर्याएर गयो । अब सरकार भएको आभास भएको छ, अब नचुहिने घरमा बस्न पाइने भयो भन्दै दंग छिन् निमकुमारी ।
निमकुमारी त एक उदाहरण मात्र हुन् । दाङ घोराही वडा नम्बर १६ का होमबहादुर चौधरीको कहानी पनि उनको भन्दा कम छैन । होमबहादुर भन्छन्– ‘जेनतेन घर लगाएँ, तर घर छाउने जस्ता किन्न सक्ने हैसियत थिएन मेरो ।’ वडा कार्यालय घरमै आएर जस्तापाता दिएर गयो । वर्षौंदेखिको सरकारप्रतिको आफ्नो भोक जस्तापाताले मेटाएको उनी बताउँछन् ।
घोराही उपमहानगरपालिकामा खरको छानो हटाएर जस्तापाता सहयोग गर्ने योजना सुरु गरेका वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भए पनि वडावासीहरू भने उनको सम्झना गरिरहेका छन् । वडा अध्यक्षको निधन भए पनि उनको सत्प्रयासले आफूहरूले राम्रो घरमा बस्न पाएको भन्दै उनीहरू अध्यक्ष बुढालाई सम्झिरहन्छन्।
स्थानीय तहमा सरकारकै प्रतिनिधित्व गरेर जनप्रतिनिधि वडा कार्यालयमा आएपछि वडाबासीले सुरक्षित आवास निर्माणमा सहयोग पाएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले खरका छाना विस्थापित गर्ने योजना बनाएपछि गरिबहरूले राहतको सास फेरेको उनीहरू बताउँछन् । अहिले वडा नम्बर १६ मा रहेका ५० भन्दा बढी गरिब तथा विपन्न घरपरिवारले खरको छानो फालेर टिनको छानो लगाइसकेका छन् ।
यो कार्यक्रमको नेतृत्व गरिरहेका वडा नम्बर १६ का कार्यबाहक अध्यक्ष जगतबहादुर श्रेष्ठले अब सिंगो उपमहानगरपालिकाले नै यो कार्यक्रम सुरु गर्ने जानकारी दिए । कार्यक्रमको मापदण्ड अनुसार गरिब, विपन्न, असहाय घरपरिवारलाई जस्तापाता वितरण गरिएको जनाइएको छ ।
घोराही–१६ का कार्यबाहक अध्यक्ष जगतबहादुर श्रेष्ठले पहिले तथ्यांक संकलन गरेको र पछि प्राविधिक नापजाँचपछि जस्तापाता वितरण सुरु गरेको जानकारी दिए । अहिलेसम्म यो कार्यक्रमका लागि उपमहानगरपालिकाले एक करोड ११ लाख १७ हजार रूपैयाँ खर्च गरेको जनाइएको छ ।
बजेट अनुसार एक हजार छ सय सात बन्डल जस्तापाता खरिद गरेर वितरण गरिएको प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार १२ लाख रूपैयाँ बराबरको जस्तापाता अझै वितरण गर्न बाँकी छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले १८ लाख रूपैयाँ भन्दा बढी बजेट खर्च गरिसकेको छ । सिंगो उपमहानगरपालिका क्षेत्रमा पनि ६/७ हजार परिवारले विपन्नताकै कारण सुरक्षित आवास निर्माण गर्न नसकेको बताइएको छ।
घोराही उपमहानगरपालिका क्षेत्रमा २.२७ प्रतिशत घर झुप्रो, छाप्रो र टहरा रहेको बताइएको छ । उपमहानगरपालिकाका अनुसार ५० प्रतिशत घर कच्ची, १८.४० प्रतिशत घर अर्धपक्की र २९.२० प्रतिशत घर पक्की छन् ।
खरको छाना भएका घरहरू उपमहानगरपालिकामा कति छन् भनेर सर्वेक्षण गरेर पाँच वर्षभित्रमा सबै खरका छाना हटाएर टिनका छाना बनाउने योजनामा रहेको प्रमुख नरुलाल चौधरीले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६