काठमाडौं : निर्माण सुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । वि.सं. २०६० पुसदेखि मैदान निर्माण सुरु भएको थियो । निर्माण सुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्यासमेत समाधान हुनसकेको छैन ।
क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण सुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । वि.सं. २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताइन् । कित्ता नं. ४०१ र ४०४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उनले चिन्ता प्रकट गरिन् । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकूद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहेका राधाकृष्ण विष्टले बताए ।
मूलपानीको २९६ रोपनी जग्गामा हाल दुईवटा मैदान अन्तिम चरणमा पुगेको उनको भनाइ छ । माथिल्लो मैदानमा गत वर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो । तल्लो मैदानमा आज पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० समूह सहभागी भएका खेलकूद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईंले बताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयाँलले खेलकूदमा व्यावसायिक विकास हुनुपर्ने बताए । मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उनको भनाइ थियो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकूदको ‘हब’का रूपमा विकास गर्न लागिएको जानकारी दिए । नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्त्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उनले सुनाए ।
नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एसियन क्रिकेट एकेडेमी बनाउन स्थानीयबासीले सार्वजनिक जग्गा दिएको बताए । मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता हुनेगरी विकास गर्नुपर्नेमा उनले जोड दिए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि उनीहरू नआएकामा स्थानीयबासी नवराज आचार्यले दुःख व्यक्त गरे । मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन । मैदान र प्यारापिटबाहिरको खाली भागमा झाडी देखिन्छ । मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ । यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जा स्वरूप दुई लाख रुपैयाँ लिएर हिँडेका सुकुम्बासीले कब्जा जमाएका छन् ।