काठमाडौ : यस वर्षको हिमालको आरोहणका लागि उपयुक्त मौसमको आखिरी चरणमा आएको हुँदा अधिकांश आरोही र सहयोगीहरू हिमालबाट फर्कन थालेका छन् ।
यस वर्षको वसन्तकालीन सिजनमा खुला रहेका चर सय १४ हिमालमध्ये ३२ हिमाल आरोहणका लागि आठ सय ९५ जनाले अनुमति लिएको पर्यटन विभागका महानिर्देशक डुण्डराज घिमिरेले बताए । जसमध्ये सगरमाथा आरोहणका लागि मात्र तीन सय ८१ जनाले अनुमति लिएका छन् ।
यस वर्ष हिमाल आरोहण क्रममा १६ जना आरोही तथा सहयोगीहरू हिमाल आरोहण क्रममा हराएको (मृत्यु पुष्टि नभएको) भएको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये सगरमाथामा मात्र आठ जना हराएको बताइएको छ । उनीहरू आरोहण दल र सम्पर्क अधिकृतको सम्पर्कमा नरहेकाहरूको तथ्यांक सार्वजनिक गरिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् ।
यस वर्ष सगण्रमाथा सरसफाइ अभियान सञ्चालन भइरहेको छ । अभियानका टोलीहरू सगरमाथा आधार शिविर क्षेत्रमा नै छन् । सरसफाइबाट साढे पाँच टन फोहोर र चार वटा शव संकलन भएको छ ।
संकलित फोहोर भरियामार्फत् नाम्चे ढुवानी भइरहेको सगरमाथा सरसफाइ अभियान कार्यान्वयन समितिले जनाएको छ भने सबै शव काठमाडौं ल्याइसकिएको छ । ल्याइएका शव तीन वटा कंकाल मात्र भएकाले निकै पुरानो भएको अनुमान छ ।
यस तथ्यांकअनुसार सगरमाथाबाट चार वटा पुराना शव उठाउने काम हुँदा नयाँ आठ जनाको अवस्था अज्ञात हुनुले सगरमाथा सफाइ गर्न चुनौती देखिएको छ । त्यस्तै सगरमाथा क्षेत्र अत्यन्तै चिसो ठाउँ भएकाले मौसम छिनछिनमा परिर्वतन हुने तथा निरन्तर हिउँ परिरहने भएकाले अधिकांश फोहोर र शव पुरिएका हुन सक्छन् ।
साथै त्यस क्षेत्रबाट १०÷१२ केजी सामान बोक्नै धेरै जटिल छ भने मानव मृत शरीर ६०÷७० केजीभन्दा बढी हुने भएकाले शव व्यवस्थापनमा धेरै जनशक्ति चाहिने तथा धेरै लागत लाग्ने हुँदा मृत्यु भएमा माथि नै छाड्नुपर्ने बाध्यता भएको आरोहण सहयोगी तथा आरोहीहरू बताउँछन् ।
आज पर्यटन विभागले विज्ञप्ति जारी गर्दै सगरमाथामा मृत्यु हुनु र हराउनु दुःखदायी घटना भन्दै यस्ता घटना न्यूनीकरणका लागि सबैको प्रयास रहेको जनाएको छ । साथै सगरमाथाको गरिमा र महत्त्वलाई होच्याउने गरी भएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ ।
विज्ञप्तिमा आरोहण मार्गको चाप मात्र मृत्युको कारण हुन नसक्ने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६