एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा भारतले हार व्यहाेरेकाे छ । भारतसँगकाे खेलमा न्युजिल्यान्डले ६ विकेटको सहज जित निकालेको हाे।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रनको योगदान दिए । रोश टेलर ७१ रनमा क्याच आउट भए । विलियम्सन र टेलरले तेस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको सहज जित पक्का गरे । यी दुईको शतकीय साझेदारी ३० ओभरको पाँचौ बलमा चाहलले रोहित शर्माबाट विलियम्सनलाई क्याच गराउँदै तोडे ।
ओपनर मार्टिन गुप्टिल २२ र कोलिन मुनरो ४ रनमा आउट भए । हेनरी निकोल्स १५ रनमा अविजित रहे ।
भारतका लागि रविन्द्र जडेजा,जसप्रित बुमराह,युजवेन्द्र चाहाल र हार्दिक पान्ड्याको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३९.२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनायो । भारतका लागि तल्लोक्रमका रविन्द्र जडेजाले ५४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो पर्दशन गर्न सकेनन् । भारतलाई सम्मानजक योगफल सम्म पुर्याउन महत्वपूर्ण इनिङ खेलेका जडेजाले ५० बलमा ६ चौका र २ छक्का प्रहार प्रहार गरे ।
विश्वकपको प्रमुख दाबेदार मानिएको भारतलाई यो हारले धक्का दिएको छ । भारतले दोस्रो वार्मअप खेल मंगलबार बंगलादेशसँग खेल्ने छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६